४५ करोड लगानीमा मनाङमा स्याउ फार्म, माग बढ्न थालेपछि लगानी पनि विस्तार

कृषि पोष्ट संवाददाता

काठमाडौ , १५ भदौ ।

हिमाल पारिको जिल्ला मनाङको स्याउ देशभर प्रख्यात छ । हिमाली हावापानीमा युरोपबाट ल्याएको स्याउको वेर्नाले वर्षेनी उत्पादन बढाएपछि मनाङका सांसद पोल्देन छोपाङ गुरुङले पाँच वर्ष अघिदेखि सुरु गरेको स्याउ खेतीलाई विस्तारित रुपमा फैलाउँदै छन् ।

गुरुङका छोरा युवराज गुरुङले स्याउ खेतीमा आधुनिकरण गरेपछि लगानी र क्षेत्रफल दुबै बढेको हो । पोल्देन गुरुङले वि.सं २०७० सालमै मनाङको ङिस्याङ भ्राताङमा ७३५ रोपनी जग्गामा स्याउ खेतीको तयारी गरेका थिए । वेर्ना र जग्गा मिलेपछि २०७२ सालमा उत्पादन थालेर बिक्री वितरण गर्दै आएका गुरुङ पछिल्लो पटक मनाङबाट सांसदमा निर्वाचित भएपछि स्याउ खेतीलाई अगाडि बढाएका छन् उनका छोरा युवराज गुरुङले ।

युवराजले नेदरल्याण्डमा स्याउसम्बन्धी अध्ययन गरेका थिए । सोही अध्ययन र अनुसन्धानपछि उनले व्यवस्थित र वैज्ञानिक रुपमा स्याउ खेतीलाई अघि बढाइरहेका छन् । मनाङ मस्याङ्दी क्लबको ७३५ रोपनी जग्गामध्ये ५५० रोपनी जग्गामा अहिले स्याउ खेती भैरहेको छ । जग्गा गुरुङले २७ वर्षका लागि लिजमा लिएका हुन् ।

वर्षेनी स्याउ खेतीलाई गुरुङले विस्तार गर्दै लगिरहेका छन् । एग्रो मनाङ प्रालिमार्फत ३० करोड रुपैयाँ लगानीमा स्याउ खेती गरिएको हो । जहाँ, वर्षेनी ६०० टन स्याउ उत्पादन हुँदै आएको छ । बारीदेखि स्याउलाई सफा गर्न आधुनिक प्रविधिको प्रयोग गरिएको छ । ‘प्रोसेसिङ’ गरेर प्याकिङ गर्दा स्याउको चमकले यसको बजार भाउ अझै बढाइरहेको छ ।

एग्रो मनाङका प्रवन्ध निर्देशक युवराज गुरुङले हाल ५५० रोपनी क्षेत्रफलमा पाँच वर्षदेखि स्याउ खेती हुँदै आएको बताए । ‘स्याउ खेती नेपालको मात्र नभई एकिकृत रुपमा गरिएको दक्षिण एसियाकै ठूलो फार्म हो,’ उनले भने ।

वर्षमा एक सिजन मात्र उत्पादन हुने स्याउ नेपालभित्र धेरै खपत हुने गुरुङको भनाइ छ । ‘स्याउ नेपालमै राम्रो उत्पादन हुने भएपनि विदेशबाट आयात भैरहेको छ, हामीले आयातलाई केही मात्रामा प्रतिस्थापन गर्दै लगिरहेका छौं,’ उनले भने, ‘विस्तारै विदेशसम्म पनि पुराउने कोशिस गरिरहेका छौं ।’

गुरुङकै नेतृत्वमा मनाङमै ३२० रोपनी क्षेत्रफलमा १५ करोड रुपैयाँ लगानीमा अर्काे स्याउ खेती पनि सुरु भएको छ । सबजे एग्रो प्रालिमार्फत मनाङका सात गाउँका ७२ जनाको सामूहिक लगानी रहेको फार्ममा प्रभु बैंकले ऋण लगानी गरेको छ । प्रभु बैंकको साथ मनाङको स्याउ खेतीका लागि यसअघि पनि भएको थियो । गुरुङको एकल लगानीमा भएको स्याउ खेतीका लागि पनि प्रभु विकास बैंक हुँदा नै ४ करोड रुपैयाँ लगानी भएको थियो । सबजे एग्रोमा प्रभुले १२ करोड रुपैयाँ लगानी गरेको छ ।

पोल्देन गुरुङले ठमेलमा चलिरहेको मुनलाइट होटल बिक्री गरेर मनाङमा ठूलो लगानीमा स्याउ खेती सुरु गरेका थिए । गुरुङले इटाली र सर्बियाबाट स्याउका दुई प्रजाति ल्याएका थिए । अहिले त्यही दुई प्रजातीको ठिमाहा स्याउको उत्पादन भइरहेको छ । फुजी, गाला र गोल्डेन प्रजातिका स्याउ उत्पादन भइरहेको गुरुङले बताए । एउटा बोटबाट कम्तीमा ३० किलो स्याउ उत्पादन हुने गरेको छ ।

गुरुङकै स्याउ बारीबाट लगेको बेर्नाले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा पनि परीक्षणका लागि लगाइएको स्याउले उत्पादन दिन थालेको छ ।

गुरुङको एग्रो फार्मले जुस, ड्राई एप्पल, ब्रान्डी र वाइनसमेत बनाउन थालेको छ । अहिले परीक्षण गरिरहेको केही उत्पादनलाई केही समयपछि बजारमा ल्याउने तयारी भएको प्रबन्ध निर्देशक गुरुङले बताए ।

तीन प्रजातिका स्याउ सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पाक्ने हुनाले सजिलै बजार लिने गुरुङले बताए । स्याउ खेतीमार्फत एग्रो टुरिजमलाई पनि अगाडि बढाएका गुरुङले मनाङमै कोल्ड स्टोर्स र होटल पनि सञ्चालन गरेका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏