कौसी खेतीबाट मासिक ५० करोडको तरकारी

कृषि पोष्ट संवाददाता

काठमाडौ , १३ भदौ ।

पोखरा महानगरपालिका, कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब १ लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् ।

पोखरा नगरभित्र उत्पादन हुने फोहाेरलाई घर/घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी कार्यक्रममा कडरियाले कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । महानगरले ‘छुट्याऔँ फोहाेर, बनाऔँ मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा महानगरका ११ वडामा अभियान सञ्चालन गरिने कडरियाले बताए ।

अभियान सञ्चालन गर्न पोखरा महानगरप्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १४८ सदस्यीय मूल समिति गठन गरिएको छ । अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा सुझावसमेत संकलन गरिएको छ ।

महानगर प्रमुख जिसीले घरमा उत्पादन हुने फाेहाेरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए । उनले घरमा उत्पादित फाेहाेरमध्ये कुहिने फाेहाेरलाई प्राङ्गारिक मल तथा ऊर्जा निकाल्न प्रेरित गर्दै कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए ।

जिसीका अनुसार फाेहाेर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घरघरमा तीन प्रकारका फाेहाेरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी ४ महिनासम्म निरन्तरता दिने, ४ महिनाभित्रमा फाेहाेरमैला व्यवस्थापन, मूल्यलगायतका मापदण्ड निर्माण गरी स्वीकृतिका लागि महानगरमा सिफारिस गरिनेछ ।

अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडाध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मूल समिति र सचिवालय समिति गठन गरी फाेहाेरमैला व्यवस्थापन गरिने मूल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिए । योगीका अनुसार कुन वडामा कहिलेदेखि अभियान थाल्ने बारेमा सचिवालयको बैठकले निर्णय गर्नेछ ।

शहरी योजना आयोगका सदस्य सरोज कोइरालाले पोखरामा दैनिक १८२ टन फाेहाेर उत्पादन हुने गरेको बताए । उनका अनुसार फाेहाेरमध्ये ८० प्रतिशत घरयासी फाेहाेर नै उत्पादन हुने गरेको छ । कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए ।

पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मूल समितिका सदस्यसचिव कल्पना बरालले पोखरामा २०३६ सालमा कुचीकारका रूपमा कर्मचारी नियुक्ति गरेर सरसफाइको काम अगाडि बढेको र २०४६ बाट सवारी साधन ल्याएर फाेहाेर व्यवस्थापन गरिएको बताए । बरालका अनुसार पोखरामा वि.सं. २०५५ मा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र २०५९ सालमा सम्पन्न भए पनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदै आएको छ । रासस

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏