किसानको लागी आयो खुशीको खबर, कफी खेती र नर्सरीको लागि अनुदान

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफी खेती र नर्सरी स्थापना गर्न चाहनेलाई ५० प्रतिशत अनुदान दिने भएको छ ।
तर यसका लागि कम्तिमा ५० रोपनी जमीन चक्लाबन्दी गर्नुपर्ने भनिएको छ । बोर्डले वार्षिक कार्यक्रमअनुसार चक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रम कार्यान्वयनका लागि चक्लाबन्दी प्रोत्साहित गर्न अनुदान दिने भएको हो ।

कपी रोप्न तथा व्यवस्थापन गर्न वा न्यूनतम ५० हजार कफीको बिरुवा उत्पादन गर्नेलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने गरी बोर्डले जनाएको छ । यसका लागि इच्छुक कृषक समूह, फर्म, उद्योग, सहकारी र अन्य संघसंस्थालाई ३५ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गर्दै बोर्डले सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।

चक्लाबन्दीमा कफी विस्तार कार्यक्रमका लागि प्रतिरोपनी ३० हजार रुपैयाँको दरले हुन आउने रकममा ५० प्रतिशत अनुदान दिने बोर्डले जानकारी दिएको छ । यो अनुदान रकमपछि जमीन चक्लाबन्दी गरेर कफी विस्तार गर्ने किसान तथा संघसंस्थाको लागत प्रतिरोपनी १५ हजार रुपैयाँमा मात्र पर्ने अपेक्षा बोर्डको छ।

यस्तै, कफी नर्सरी स्थापनाका लागि भने अनुदानको अधिकतम रकम नै तोकिएको छ । यसका लागि बढीमा सात लाख ६९ हजार ८५० रुपैयाँमा ५० प्रतिशत अनुदान दिने बोर्डको सूचनामा उल्लेख छ । ‍

इच्छुकले कफी क्षेत्र विस्तारका लागि जोडिएको किता भएको न्यूनतम ५० रोपनी जग्गाको लालपुर्जाको फोटोकपी वा जग्गाधनीसँगको लिज सम्झौता र परियोजनास्थल रेखांकन गरिएको नापी विभागको नक्साको फोटोकपी पनि प्रस्तावसँगै पेश गर्नुपर्ने छ । यस्तै, कफी नर्सरी स्थापनाका लागि कम्तिमा ५० हजार बिरुवा उत्पादन गर्न चाहिने न्यूनतम १२x३२ वर्गमिटर क्षेत्रफलका लागि आवश्यक जग्गाको लालपुर्जाको फोटोकपी वा लिज सम्झौता पेश गर्नुपर्ने छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏