राति १२ देखि बिहान ९ बजेसम्म तरकारी बजार खुल्ने

कृषि पोष्ट संवाददाता

काठमाडौं, ५ भदौ ।

तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ। कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी बजार राति १२ देखि बिहान ७ बजेसम्म सञ्चालनमा आउनृ भएको हो।

निषेधाज्ञाको कारण बजार खुल्न तरकारी बिक्री हुन छाडेपछि व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा बजार खोल्ने समयावधि बढाउन माग गरेका थिए।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधसँगको समन्वयमा बिहान ९ बजेसम्म बजार खोल्न पाउने निर्णय भएको बजार विकास समितिले जनाएको छ।

दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा निषेधाज्ञाको कारण बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको थियो।

तरकारी आयातमा निषेधाज्ञा प्रभाव

तरकारीको ठूलो खपत हुने काठमाडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ । दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको बजार विकास समितिमा सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

बुधबार बजारमा ५ लाख १६ हजार किलो तरकारी भित्रिएको थियो । बुधबार ५४ हजार किलो फलफूल भित्रिएको बजारमा बिहीबार ११ हजार किलो मात्रै फलफूल भित्रिएको छ । यस्तै बजारमा आज माछा नभित्रिएको बजार विकास समितिले जनाएको छ ।

बजार खुल्ने अनिश्चिततता र निषेधाज्ञाको डरले छिमेकी जिल्लाबाट तरकारी भित्रिन कम भएको बजार विकास समितिले जनाएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏