काठमाडौँ , २ भदौ ।
पैसा कमाउन देशविदेश धाइराख्नु पर्दैन, आफ्नै गाउँघरमा मेहनत गरेर मनग्यै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ चारकुनेका ४२ वर्षीय इमानसिंह बस्नेत ।
उनी मेहनती मात्रै छैनन्, पेशाप्रति इमान्दार पनि छन् । १५ वर्षदेखि लगातार कृषि पेशामा छन् । २०५७ सालतिर काठमाडौंको एउटा होटलमा उनले १८ महिना वेटर बनेर काम गरे ।
वैदेशिक रोजगारीमा जान उनले दुबईका लागि आवेदन भरे, भिसा आयो । उनको स्वास्थ्यमा समस्या देखिएकाले उनी गएनन् । १२ कक्षासम्म पढेका बस्नेत त्यसपछि २०५९ सालदेखि कृषि पेशामा लागे ।
शुरूमा तरकारी खेती गरेका उनी २०६५ सालदेखि व्यावसायिक च्याउ खेतीतिर लागे । ‘त्यतिबेला सुर्खेतमा बिउ उत्पादन हुँदैन्थ्यो । जिल्ला कृषि कार्यालयले उतिबेला काठमाडौंबाट च्याउको बिउ ल्याइदिन्थ्यो । बोत्तलमा बिउ आउँथ्यो,’ उनले सम्झिए, ‘५० रुपैयाँमा खरिद गरेको बिउले ४ डल्ला च्याउ खेती गर्न पुग्थ्यो ।’ उतिबेला १०० डल्लाबाट च्याउ खेत शुरू गरेका थिए उनले ।
उतिबेला च्याउको खासै बजार थिएन । ठूलो जातले च्याउ खान हुँदैन भन्ने मान्यताका कारण ग्राहक मिल्दैन्थे । १५० रुपैयाँ फूटकर र १०० रुपैयाँ होलसेलमा प्रतिकिलो च्याउ बिक्री हुन्थ्यो । शुरूको वर्ष उनले ३० हजार रुपैयाँ कमाइ गरे ।
च्याउ खेती बढाउन उनले घरका २ कोठासँगै बाँसका ६ वटा अस्थायी टहरा बनाएर खेती गर्न खोजे । त्यतिबेला १ हजार ६०० डल्लामा उनले च्याउ लगाए । तर उनलाई ३ लाख रुपैयाँ घाटा भयो । ‘गाडीमा ल्याउने समयमा बिउमा संक्रमण भएछ, उम्रिएन, कुहियो,’ उनले भने, ‘अर्काे वर्ष स्थायी संरचना निर्माण गरें । संरचना निर्माणमा साढे १ लाख लगानी गरें । त्यहाँबाट घाटा असुल भयो ।’
हाल ३ वटा टनेल स्थायी छन् । घरका २ कोठामा उनले च्याउ खेती गरिरहेका छन् । ३ हजार ५०० डल्लाभन्दा बढीमा उनले च्याउ खेती गरिरहेका छन् । अहिले उनले उत्पादन गरेको च्याउ वीरेन्द्र्रनगरमै २०० देखि ३०० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ । ‘एक डल्लाबाट एक सिजनमा साढे ३ किलो च्याउ निस्किन्छ,’ उनले भने ।
कामको चाप हेरेर उनले ४–१० जनासम्मलाई रोजगारी समेत दिने गरेका छन् । खाना–नास्ता दिएर दैनिक ५००–८०० रुपैयाँ दैनिक ज्याला समेत दिन्छन् उनले ।
हाल उनको मासिक रूपमा डेढ लाख रुपैयाँसम्म कमाइ हुन्छ । लकडाउनको समयमा चैत ११ गतेदेखि हालसम्म उनले च्याउ बिक्री गरेर ४ लाख रुपैयाँ बचाएका छन् ।
२०७६ सालमा उनले दूर्गा पशु कृषि तथा च्याउ फर्म दर्ता गरे । हालसम्म २० लाख रुपैयाँ लगानी गरिसकेका छन् । उनले बीउ उत्पादनमा भने हात हालेका छैनन् ।
उनले शुरूमा च्याउ खेती तालिम लिएकाहरूलाई नै काममा लगाए । अहिले भने उनी आफैं प्रशिक्षकको रूपमा तयार भइसकेका छन् । घरेलु कार्यालय, सैनिक पृतना र विभिन्न संघसंस्थामा गएर उनले च्याउ खेती तालिम समेत दिने गरेका छन् ।
शेरबहादुर थापा
लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।