माहुरीपालनमा सरकार र किसानको एक करोड लगानी

कृषि पोष्ट संवाददाता

नारायणपुर, १२ साउन।

दाङमा माहुरी तथा माहुरीजन्य सामग्री खरिदमा रु एक करोड बढी लगानी भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना योजना कार्यान्वयन एकाइ कार्यालय मौरीजोन घोराही तथा कृषकले सामग्री खरिदमा उक्त रकम लगानी गरेका हुन्।

माहुरी जोन र कृषकको गरी गत आर्थिक वर्षमा रु एक करोड पाँच लाख ४० हजार ६९७ लगानी भएको छ। जसमा माहुरी जोनबाट अनुदान रु ४२ लाख १३ हजार २६९ र कृषकको रु ६३ लाख २७ हजार ४२८ लगानी भएको मौरी जोन एकाइ कार्यालयका प्रमुख कला बुढाले बताउनुभयो। अनुदान तथा कृषकको लगानी थपिएसँगै माहुरी तथा माहुरीजन्य उत्पादन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

माहुरी जोन एकाइ कार्यालयले सनराइज बि किपिङ सेन्टर र राइजिङ बि एपियरीलाई गाडी खरिद गर्नका लागि रु १०÷१० लाख अनुदान दिएको छ भने कृषकले रु १३ लाख ३९ हजार लगानी गरेको बुढाले बताउनुभयो । यस कार्यले माहुरीचरण तथा मौरीजन्य सामग्री बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मह सङ्कलन तथा प्रशोधन गरी महको मूल्य तथा गुणस्तर वृद्धि गर्ने उद्देश्यले विशाल मौरी फार्मलाई रु १७ लाख ६३ हजार २४१ अनुदान दिएको छ । गुणस्तरीय रानी उत्पादन गर्नका लागि तुलसीपुर उपमहानगरपालिका– ७ मुनामदन बी कन्सर्नलाई रु दुई लाख ५० हजार अनुदान दिएको छ।

जसमा कृषकले रु दुई लाख ६२ हजार ६०० स्व लगानी पनि गरेका छन् । गुणस्तरीय रानी उत्पादन गर्नका लागि घोराही उपमहानगरपालिका– ४ मा बी एण्ड बी मौरी फार्मलाई रु दुई लाख ५० हजार अनुदान दिएको छ भने रु तीन लाख १० हजार १०० स्वलगानी गरिएको छ । मौरी आरक्षको निर्माण गरी प्रतिकूल मौसमबाट बचाइ गुणस्तरीय मह उत्पादन गर्न घोराही–१८ मा रहेको प्राकृतिक एपिकल्चर सेन्टरलाई रु दुई लाख अनुदान दिएको छ । जसमा कृषकले रु दुई लाख २४८ लगानी गरेकोे प्रमुख बुढाको भनाइ छ ।

कार्यालयले दाङ जिल्लामा चरन क्षेत्रको सिजन अफ भएका समयमा अन्य जिल्लामा माहुरी चरनमा जाँदा लाग्ने लागतमा समेत सहयोग गरेको छ । कार्यालयका अनुसार २९ जना कृषकले सहयोग पाएका छन् । यसका लागि रु पाँच लाख नौ हजार ७०० सहयोग गरेको उहाँको भनाइ छ । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा माहुरी जोेन कार्यक्रम लागू भएको छ । यसले कृषकलाई माहुरीपालन गर्दा आइपर्ने समस्या समाधान तथा प्राविधिक सहयोग, सामग्रीमा अनुदान तथा अन्य सहयोगसमेत गर्दै आएको छ । रासस

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏