आइतबार दाङ हुँदै नेपाल प्रवेश गरेको सलह १० जिल्ला पुग्यो

कृषि पोष्ट संवाददाता

काठमाडौँ, २९ असार ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हाल १० जिल्लाका विभिन्न स्थानमा सलहका झुन्डहरु रहेको जनाएको छ। आइतबार बिहान दाङ हुँदै नेपाल भित्रिएको सलहको झुन्ड र आइतबार नै बेलुका नवलपरासीमा देखिएको झुन्ड पछिल्लो पटक नेपाल प्रवेश गरेका हुन्। यसअघि असार १३ गतेदेखि १६ गतेसम्म नेपाल प्रवेश गरेका सलहका निकै साना समूहहरु पनि बाँकी रहेको केन्द्रले जनाएको छ।

आइतबार दाङ जिल्लाबाट प्रवेश गरेको सलहको झुन्ड साँझ प्यूठान जिल्लाको माण्डवी गाउँपालिका, झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाको आसपासका क्षेत्रमा आश्रय लिएको र सोमबार बिहान ७ बजेदेखि नै उक्त झुन्डहरु आकाशमा घुमिरहेको केन्द्रले जारी गरेको सलहसम्बन्धी विज्ञप्तिमा भनिएको छ।

‘सलह बालीनालीमा बस्न लागेको अवस्थामा कृषक तथा समूदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिएपछि उत्तर पश्चिमतर्फ लागेको सूचना प्राप्त भएको छ। केही संख्यामा उक्त सलहहरु प्यूठानमा पनि रहेको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी आइतबार साँझ नपलपरासी जिल्लाको वेणी–त्रिवेणी गाउँपालिकाको भारततर्फको सिमावर्ती क्षेत्रमा पनि करिब ५-७ हजारको संख्यामा रहेको सलहको झुन्ड प्रवेश गरेको र जंगलमा आश्रय लिई धानखेतमा आउने जाने गरेको सूचना प्राप्त भएको केन्द्रले जनाएको छ।

असार १३ देखि १६ सम्ममा विभिन्न जिल्लाहुँदै प्रवेश गरेका सलहका झुन्डमध्ये छरिएर गएका सलहहरु सानो संख्यामा अझै पनि बाग्लुङ्ग, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा देखिएको रहेको केन्द्रले जनाएको छ।

भारतको सिमावर्ती क्षेत्रमा छरिएर रहेका सलहहरु केही संख्यामा अझै पनि दाङ्ग देखि नवलपुरसम्मका क्षेत्रमा दक्षिण पश्चिमी वायुको सहारामा नेपालमा प्रवेश गर्ने सम्भावना रहेकाले बिशेष गरि तराइ क्षेत्र तथा तल्लो पहाडी क्षेत्रमा सजग रहन भनिएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सोमबार सुदूरपश्चिम प्रदेश र प्रदेश ५ दक्षिण पश्चिमी र अन्य भागमा दक्षिण पूर्वी वायुको प्रभाव रहेको र भोलि मंगलबार सुदूर पश्चिममा दक्षिण पूर्वी र अन्य स्थानमा पूर्वी वायूको प्रभाव रहेकाले ती स्थानबाट सलह नेपाल भित्रन सक्ने आंकलन गरिएको छ। साथै भारतको लखनउको आसपासमा रहेको सलहको झुन्डबाट टुक्रिएर आएका केही सलहहरु पर्सा, धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना पनि रहेको छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏