टिम्मुर बन्यो आम्दानीको भरपर्दो स्रोत

कृषि पोष्ट संवाददाता

बेनी नगरपालिका–१० तोरीपानीकी जुनकेरी परियारले यस वर्ष टिम्मुर बेचेरै ५० हजार रुपैयाँ आम्दानी गरिन् । टिम्मुर बेचेर भएको आम्दानीले परियारलाई चाडपर्वमा नयाँ कपडा किने, घरखर्च चलाउने र छोराछोरी पढाउन सजिलो भएको छ ।

“छोराछोरीको पढाइ, घरखर्च चलाउने र चाडबाड मनाउने पैसा टिमुरबाट जुटाएकी छु,” परियारले भनिन्, “टिमुर खेती गरेपछि दुईचार हजार आवश्यक पर्दा ऋण खोज्न जानुपर्ने समस्या परेको छैन ।”

उनकी छिमेकी चन्द्रकली परियारको बारीमा पाँचवटा टिमुरका बोट छन् । दम रोगकी बिरामी चन्द्रकलीले पनि घरखर्च र औषधि किन्ने पैसा जुटाउने स्रोत त्यही टिमुरका बोट हुन् । “टिम्मुर बेचेर नुन, तेल र औषधि किन्ने पैसाको जोहो गर्दै आएकी छु,” चन्द्रकलीले भनिन् ।

जुनकेरी र चन्द्रकली मात्र होइन, तोरीपानी, स्यानीखेत, नेप्टेचौर, ढावा गाउँका बासिन्दाका लागि मसलेदार फल टिम्मुर गतिलो आम्दानीको स्रोत बनेको छ । खोल्सा, पाखो र बारीका कान्लामा फल्ने टिम्मुरले स्थानीयबासीको दैनिक सहज बनाएको हो ।

टिम्मुर बेचेर एक परिवारले वर्षमा ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने भुमेसिद्ध टिम्मुर सञ्जाल घतानका अध्यक्ष सागर बानियाँले बताए । उनका अनुसार सञ्जालअन्तर्गत १९ वटा समूहमा आबद्ध एक सय घरधुरीले यस वर्ष दुई टनभन्दा बढी टिम्मुर बिक्री गरेका छन् । कारोबार दैन्निकमा खबर छ।

“गाउँबाट यसपालि ३० लाख रुपैयाँ मूल्यबराबरको टिम्मुर निकासी भएको छ,” बानियाँले भने, “बेनी, जोमसोम, पोखरा, काठमाडौंका पाँचतारे होटलमा टिम्मुर बिक्री हुन्छ ।” यस वर्ष अस्टेलियामा १८० किलो टिमुर पठाएको र थप २० किलो पठाउने तयारी गरेको बानियाँले जानकारी दिए ।

फरेस्ट फर हेल्थ भन्ने संस्थाको सहयोगमा अस्टे«लियामा म्याग्दीको टिमुर पठाइएको हो । “यहाँबाट पठाएको टिम्मुरको गुणस्तर राम्रो भएको प्रतिक्रिया आएको छ,” बानियाँले भने, “अरूले मिसावट गर्ने भएकाले आफैं प्रशोधन, प्याकेजिङ गरी निकासी गर्ने तयारीमा छौं ।” यसअघि जर्मनीमा निकासी गर्न पहल भए पनि निकासीकर्ताले मिसावट गर्दा समस्या भएको थियो ।

मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिन्छ । टिम्मुरको मूल्य प्रतिकिलो १ हजार ४ सय रुपैयाँ छ ।

गत वर्ष चार किलोग्राम टिम्मुर बेचेका तोरीपानीका आनन्द रिजालले यस वर्ष २५ किलो बिक्री भएको बताए । अनुकूल मौसम र असिना नपरेकाले टिम्मुर उत्पादन राम्रो भएको रिजालले बताए । तोरीपानीको साथै म्याग्दीको भगवती, नारच्याङ, ताकम, मुदी टिम्मुर खेतीका लागि पकेट क्षेत्र हुन् ।

टिमुर खेती प्रवद्र्धनका लागि म्याग्दी उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । काँडैकाँडा भएको रूखमा फल्ने टिम्मुर टिप्न निकै दुःख भएकाले कैची, झ¥याङलगायतका सामग्री सहयोग गरेको संघका वरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले बताए ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏