नेपाल प्रवेश गरेको सलहले कति असर गर्न सक्छ ?

कृषि पोष्ट संवाददाता

काठमाडौ,१४ असार ।

नेपालमा सलह किरा भित्रिएको छ । अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत आएको सलहको सानो समूह नेपाल प्रवेश गरेको हो । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । सलहले खेतमा लगाइएको बाली सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।

सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन । केही दिन अघि कृषि मन्त्रालय विज्ञहरुले भारतमा आइसकेको सलह नेपालमा आउने खतरा टरेको दावी गरेका थिए । तर बैज्ञानिकहरुको दाबीलाई चुनौती दिदै नेपालमा सलहले प्रवेश गरेको नेपाल कृषि अनुसन्धान परिषद्का कीट वैज्ञानिकले पुष्टि गरेको छन । मनुसुनको बेला पूर्वबाट पश्चिमतिर हावा बहने गरे पनि दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल आइपुगेको उनिहरुको अनुमान छ । यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्ने बताएका थिए ।

सलह नेपालमा प्रवेश गरेसँगै यसले कति असर गर्ला भन्ने विषयमा पनि चर्चा हुन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको टास्क फोर्सका संयोजक सहदेव हुमागाईंले अहिले मनसुनको समय भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले अहिले नेपालमा धान रोप्ने समय भएको र अन्नबालीहरु कम भएको उल्लेख गर्दै धेरै क्षति हुन नसक्ने बताए । उनले भने, ‘अहिले धान रोप्ने समय छ । धेरैजसो खेतहरु खाली छन् । पानी पनि परिरहेको अवस्था छ ।’

हुमागाईंले धानको बीउहरुमा सलह बसिदियो भने सखाप पार्ने सम्भावना रहेको र तरकारी बाली नष्ट गर्ने सम्भावना भने रहेको बताए । यस्तै कीट विज्ञान महाशाखाका वैज्ञानिक सुदीप उपाध्यायले पनि कृषकहरुलाई नआत्तिन आग्रह गर्दै नजिकैको कृषि कार्यालयमा गएर जानकारी गराउन भनेका छन् । उनले प्रारम्भिक अध्ययनका क्रममा मरुभूमिमा पाइने धेरै खन्चुवा पहेंलो सलह नदेखिएको, मनसुन रहेको र प्रजनन् गर्ने उपयुक्त वातावरण नेपालमा नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

नेपालमा सलह भित्रिएसँगै कृषि मन्त्रालयद्वारा गठित टास्क फोर्सको बैठक अपरान्ह १ बजेबाट सुरु भएको छ । बैठकमा सलहका प्राप्त फोटो तथा विवरणको अध्ययन र अनुसन्धान गरेर कुन प्रजातिको सलह हो भन्ने निष्कर्ष निकाल्ने हुमागाईंले जानकारी दिए । यस्तै बैठकले कार्ययोजना तथा रोकथामका विधिबारे छलफल तथा निर्णय गर्ने उनले बताए ।

नेपालमा हामी तुरुन्त के गर्न सक्छौं ?

विश्वमा अन्य मुलुकमा यसको व्यवस्थापनमा गरिएका तौर तरिकालाई अध्ययन गर्दा र सो तयारीलाई नेपालमा पनि लागु कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा उल्लेखित विधिहरू गर्नुपर्ने जरुरी देखिन्छ ।

१. पहिले त सलह किरा छिमेकी देश भारतका राज्यहरूमा कसरी फैलिएको थियो । त्यसको ट्र्याकिङ गर्नुपर्ने जरूरी देखिन्छ । भर्खर नेपालमा देखिएको सलह नियन्त्रणको उपाय खोज्नुपर्दछ ।

२. नेपाल सरकारले नै यसलाई सम्भावित क्षति पुर्याउन सक्ने किराहरूको सूचीमा राखेर यस किराको बारेमा छलफल तथा व्यवस्थापनका विधिहरूका बारेमा पूर्वतयारी गर्नुपर्ने थियो प्रयाप्त हुन नसक्दा सलहले नेपाल प्रवेश गरिसकेको छ ।

३. हाल प्रकोप भइरहेका अन्य किराहरू जस्तै अमेरिकन फौजी किरा, गोलभेडामा लाग्ने टुटालगायत अन्य हमलाकारी किराहरूलाई खोजी गरी किराको निरन्तर अनुगमन, अनुसन्धान एवं कृषकको स्तरमा प्रयाप्त चेतना तथा जानकारी प्रसार गर्नुपर्ने देखिन्छ ।

४. नेपाल सरकारले सार्क क्षेत्रमा नै यस्ता किराहरूको व्यवस्थापनका लागि क्षेत्रीय स्तरमा छलफल एवं सहकार्य बढाउनुपर्ने देखिन्छ । भारत तथा पाकिस्तानमा फैलिसकेको यो किरा नेपाल आउन नदिनका लागी जैविक बारलगायत अन्य विधिहरूको बारेमा पनि तत्काल छलफल चलाउनुपर्ने थियो । यसमा ध्यान नदिएकाले नेपालमा प्रवेश भईसकेको अवस्थामा अब कसरी नियन्त्रण गर्ने भन्नेबारेमा व्यापक छलफल हुन जरुरी देखिएको छ ।

५.नेपालभरि छरिएर रहेका विभिन्न सरकारी एवं‌ गैह्रसरकारी संघसंस्था, कृषि अनुसन्धान गर्ने एवं‌ विश्वविद्यालयको सहकार्यमा विज्ञ टिम गठन गरी यसको नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउनका लागि अब ढिला गर्नुहुँदैन ।

सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म फैलिएर नेपाल पसेको यो किराले विशेष गरि धान रोप्ने समयमा प्रवेश गरेको यो किराले धानको बिऊमा पसेर ठुलो क्षति गर्ने सम्भावना छ । यसको पहिचान रोकथाम तथा नियन्त्रणको उपाय खोज्नु जरुरी छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏