करिश्मा मानन्धर कृषिमा, कुखुराको अण्डादेखि फर्सीको मुन्टासम्म

कृषि पोष्ट संवाददाता

कृषिलाई तपाईले कसरी बुझ्नु भएको छ ?
सृष्टीको सुरुवातबाटै मानिसलाई खाने कुरा चाहिन्थ्यो । ढुंगे युगमा बाच्नकै लागि जंगल पसेर भ्याकुर खोज्थे र खान्थे । विस्तारै जनावारहरु आगोमा पोलेर खान थाले । अहिलेको आधुनिक युगमा पनि मानिसलाई खाने कुरा नभई हुदैन् । भलै, अहिले खाने कुराहरुको विकल्पहरु धेर छन् । जिब्रोले खोजे अनुसारको स्वाद चाख्न पाएका छन् ।

त्यसो भए कृषिजन्य वस्तुबारे तपाईलाई कत्तिको थाहा छ ?
म सानो छदा घर तथा मामाघरमा खेती गर्नुहुन्थ्यो । मलाई ४, ५ वर्षको हुदा अझै याद छ, बर्षातमा विहान सवेरै उठेर हजुरआमा टुकी बालेर खेताला बोलाउँन गाउँ जानुहुन्थ्यो । पानी पर्दा घुम ओडेर खेतबारीमा मेरो हजुरआमाबुबाले काम गरेको झल्को विर्सेको अझै विर्सेको छैन ।

खेती किसानीको साक्षी मात्रै हो कि आफैले पनि भोग्ने मौका पाउनुभयो ?
आफै खेतमा जानु त परेन । ठूलो हुदैजादा कृषिबाट टाढिनुपर्यो । पढाईकै क्रममा खेतभन्दा टाढा जानुपर्यो । तर, झण्डै चार दशकपछि अहिले भने खेतबारीसंग साईनो जोड्न थालेको छु ।

कसरी ?
हामीले घरमा कौशी खेतीमात्रै नभएर करेसाबारी लगाएका छौ । विनोद (श्रीमान विनोद मानन्धर)ले घर छेउ मै ३, ४ रोपनी जग्गा लिएको छ । त्यहाँ अहिले धान रोप्नकालागि ब्याड लगाएको छ । घरमा लोकल कुखुरा छ । अण्डा र कुखुरा घरैमा छ । मौषमी तरकारीहरु आफै लगाएका छौ ।

कस्तो हुदो रहेछ कृषि ?
हामीले आफ्नो लागि गरेका हौ । एकदमै मन आनन्दित हुन्छ । हरियाली बोटविरुवासंग भुल्दाको मज्जा शब्दमा ब्याख्या गर्न सकिदैन । आफै पनि बोटविरुवाको स्याहार सुसार गर्दा गर्व लाग्छ । आफ्नै हातले हुर्काएको ताजा र विषादीमूक्त खानेकुरा खान पाउदा मनै गदगद हुन्छ ।

किसानलाई हेर्ने नजरमा केही परिवर्तन भयो त ?
होइन, म किसानलाई जहिले पनि सम्मान गर्थे र गर्छु पनि । तर, किसानहरु विक्री गर्नकालागि बढी विषादी हालेको देख्दा वा सुन्दा केही नरमाईलो लाग्छ । किनभने आफुले खाने र विक्री गर्ने तरकारी जन्य वस्तुहरु फरक फरक गरेको मेरै आखा अगाडी देखेको छु । तर, यो गलत हो ।

कस्तो लाग्छ नेपालको कृषि प्रणाली ?
मलाई दुःख लाग्छ । कृषिजन्य जमिनहरु बाझै छन् । गाउँघर तिर अहिले पनि खेती गर्नेहरु पाइदैनन् । कृषिमा आकर्षण देखिदैन । यसलाई सुधार गर्न सक्नुपर्छ ।

५० औं रोपनी जग्गा भएकाहरु पनि २० हजार कमाउन विदेश जानन्छन्, तपाईलाई कस्तो लाग्छ ?
त्यो उनीहरुको वाध्यता होला । तर, विदेश जानु नेपाली कल्चर भईसकेको छ । दक्षिण कोरिया गएको छिमेकी एक जना भाईलाई सोधेको थिए, ‘त्यहाँ के गछौ ?’ उसले त्यहाँ सुगुरको हेरचाह गर्ने रहेछ । तर, फरक के भने त्यहाँ श्रमको मूल्य राम्रो छ । कम्तीमा पनि एक लाख बचाउदो रहेछ । तर, नेपालको सन्दर्भमा त्यस्तो छैन् ।

ति विदेश गएका तमाम युवाहरुलाई के भन्न चाहनुहुन्छ ?
सरकारले राम्रो नीति र कार्यक्रम ल्याएर उनीहरुलाई यही राख्न सक्छ । आफ्नै गाउँघरमा पनि राम्रोसंग व्यवसायिक उत्पादन गर्ने हो भने नेपालमा पनि राम्रै कमाई गर्न सकिन्छ भन्ने प्रमाण म आफै भएको छु ।
कहिले काही काठमाडौंबाट घर फर्किने बेलामा बाटोमा देख्ने गरेको छु कि तरकारी विक्री गर्नेहरुको पसलमा मान्छेहरु झुम्म देखिन्छन् । पक्कै पनि कृषिजन्य वस्तुको माग राम्रो छ ।

सरकारले के गर्दा विदेश जानबाट युवाहरुलाई रोक्न सकिन्छ जस्तो लाग्छ ?
सरकारले पनि धेरै किसानकालागि योजनाहरु ल्याएको छ । कृषि बीमादेखि अनुदान, ऋण सौलियत पनि ल्याएको भन्ने सुन्छु । तर, प्रक्रिया झन्झटिलो हुदा किसानलाई आकर्षित पार्न सकेको छैन । त्यसलाई किसान मैन्त्री बनाएर पनि आकर्षित गर्न सक्छ । र, खेती किसान गर्नेले पनि केही चासो बढाउनुपर्छ । यसो गर्न सक्यो भने पक्कै पनि विदेशमा कमाउने रुपैया यही कमाउछ । किनभने हामीले दैनिक उपभोग गर्ने कृषिजन्य वस्तु अधिकांस भारत तथा तेश्रो मुलुकबाट भित्रिने गरेको छ ।

सरकारले कृषिमा अझै बढी के गर्न सक्छ जस्तो लाग्छ ?
सरकारले कृषि उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउन सक्छ । कृषिमा आत्मनिर्भर हुन साथ देश त्यसै समृद्धीतर्फ गईहाल्छ नि । उद्योगको रुपमा कृषि उत्पादनलाई लैजान सक्नुपर्छ । आधुनिकीकरण गर्न सक्नुपर्छ ।

तपाईको अधिकांस उर्वर समय सिनेमा विताउनुभयो, कृषक भएर पनि कहिले अभिनय गर्नुभयो ?
पक्कै पनि धेरै गरेको छु । तर, हामीले त्यहाँ नक्कल मात्र गरेका हौ । फिलिङ्स भने आउदैनथियो । जुन अहिले गर्दा आउछ ।

कृषि प्रधान देश भनिन्छ, अहिले यो नारा सुन्दा कस्तो लाग्छ तपाईलाई ?
गाउँघरमा निमुखा कृषकहरुले धानेका छन् । युवाहरु छैनन् । नारालाई सार्थक बनाउन युवाहरु त्यसमाथि पनि पढेलेखेकाहरु नै लाग्नुपर्छ । बल्ल सार्थकता पाउन सक्छ ।

फेरि त्यो नारालाई कसरी ब्यूत्याउन सकिन्छ होला ?
हामीले चलचित्रमा बाच्नका निम्ति अभिनय गरेका थिएनौ । तर, विस्तारै तल लाग्यो । र, संघर्ष लामै गर्न पर्यो । बल्ल बाच्ने आधार तयार भयो । हुन त अझै पनि पूर्ण रुपमा चलचित्र नगरी आत्मनिर्भर छैन । तर, ठूलो हिस्सालाई अहिले सिनेमा क्षेत्रले बचाएको छ । त्यसैगरी कृषि क्षेत्रमा पनि संघर्ष गर्नु जरुरी छ । केही वर्ष गाह्रो होला तर असम्भब भने छैन् । आफुप्रति विश्वास गर्नुपर्छ र संघर्ष बढाउनुपर्छ ।

तपाई केही समय अमेरिका पनि वस्नुभयो, त्यहाँको कृषि र नेपालमा कस्तो भिन्नता पाउनुहुन्छ ?
उता, पुरै आधुनिक छ । कन्ट्याक्ट फार्मिङ फस्टाएको छ । नेपालमा पनि कन्ट्याक्ट फार्मिङको कानुन आएको छ । त्यसलाई सदुपयोग गरेर उत्पादन बढाउन सकिन्छ ।

खानेकुराको भिन्नता चाही ?
उताभन्दा नेपालमै ताजा पाइन्छ । हुन त यहाँ व्यवसायिकताको नाममा विषहरु प्रयोग हुदा मन खिन्न हुन्छ । तर, उता विश्वास हुन्छ । अर्गानिकको स्टलहरु छुट्टै हुन्छ र महंगो पनि । नेपालमा पनि विश्वास गर्ने वातावरण वनाउनुपर्छ । हुन त यस्तो नियमक निकाय खाद्य तथा गुण नियन्त्रण विभागकै हाकिमहरु भ्रष्टाचारमा पर्छन । यो विडम्बना हो ।

तपाईको नियमित खानपिन कस्तो छ ?
सामान्यतया मौषमी तरकारीहरु नै राम्रो लाग्छ । सिमी, फर्सी, बोडी, धनिया, साँग आफैले रोपेको छु । धेरै किन्नु पनि पर्दैन ।

तपाईको सुन्दरतासंग खानपिनको साईनो कुनै छ जस्तो लाग्छ ?
सुन्दरता भन्दा पनि स्वस्थ रहनलाई विषादी भएको खाना खानु हुदैन । सागसब्जी र फलफूल बढी खान्छु । माछाछासु पहिलेजस्तो खादिन । खाईहाले पनि आफ्नै घरमा भएको । माछा पनि जिउँदो मात्रै किन्ने गरेको छु ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏