पर्वत,२९ जेठ ।
बिश्वब्यापी कोरोना माहामारी र लामो लक डाउनका कारण धेरै युवाहरु गाउँ फर्केका छन । बैदेशिक रोजगारीमा रहेका देखि स्वदेशमै पनि धेरैले रोजगारी गुमाउने संभावना छ ।
धन कमाउनका लागि बिदेशमै जानै पर्ने, प्रशस्त जमिन र धेरै मेहनत नै गर्नुपर्छ भन्ने छैन । नयाँ सोच सहित काम गर्ने हो भने थोरै जमिनमा असाध्यै कम मेहनतबाट पनि बार्षिक लाख रुपैया कमाउन कठिन छैन भन्ने उदाहरण पेश गरेका ५३ बर्षिय खड्गबहादुर गुरुङ्ग।
पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्ग घर भएका अवकासप्राप्त नेपाली सेना रहेका गुरुङ्गले कुस्माबजारमा रहेको घरको छतमा फलाएको अंगुरबाट बर्षमा लाख रुपैया कमाउनुहुन्छ । युरोपियन जातको सिडलेस(बियाँ रहित) अंगुर छतमा फलाउनु भएको छ । भुँइको पाँच बर्ष अघि लगाएको बोटले तीन बर्ष अघि देखि नै उत्पादन दिन थालेको हो ।
गत बर्ष ७० हजार रुपैंयाको अंगुर मात्रै बिक्री गर्नुभएका गुरुङ्गले यस बर्ष एक लाख रुपैयाको बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । ‘गत बर्ष ७० हजारको अंगुर मात्रै बेचेको थिए’ उहाँले भन्नुभयो ‘यस बर्ष एक लाखको बिक्री गर्ने लक्ष्य हो तर , असिनाले केही क्षति पु¥याएको छ।’
बजारमा बिदेशबाट ल्याएको र बिषादी राखेर कुहिनबाट जोगाएको अंगुरको तुलनामा स्वादिलो र स्वस्थकर पनि छ छतमै फलाएको अंगुर । अलिअलि गुलियो हुन थालेपछि नै घरमा आएर किन्नेको लर्को लाग्छ । ‘पाक्न थालेपछि पु¥याउनै मुस्किल पर्छ।’ उहाँले भन्नुभयो ‘स्वादिलो मानेकाले घरबाटै बिक्री हुन्छ, बजार खोज्न जान पर्दैन।’
बिरुवाबाट पनि लाख आम्दानी
मेहनती किसान खड्गबहादुर गुरुङ्गले छतमा अंगुर फलाएपछि बिरुवा खोज्नेहरु पनि प्रशस्त छन । गत बर्ष ४० हजार भन्दा बढी मुल्यका बिरुवा बेच्नुभएको थियो । अहिले ३ सय बिरुवा बिक्री भैसकेका छन । एउटा बिरुवा ३ सय रुपैयामा बिक्री गर्नुहुन्छ । बिरुवा बिक्रीबाटै ९० हजार आम्दानी भएको छ । घरमा लगाउने, होटल, देखि बारीमा लगाउनेहरु अंगुरका बिरुवा खोज्न आउने गरेका छन । उहाँले हिउँदको समयमा बिरुवा तयार गरेर बर्षा याममा बिक्री गर्नुहुन्छ । जेठ देखि असार महिनामा बिरुवा रोप्न सकिने गुरुङ्ग बताउनुहुन्छ ।
सुन्तला र माहुरी पालनबाट पनि कृषक गुरुङ्गले राम्रो आम्दानी लिन थाल्नु भएको छ । नेपाली सेनाबाट अवकास भएपछि उहाँले दुर्लुङ्गको चनौटेमा भुपु सैनिकहरुको सहकारी बनाएर ब्यबसायिक खेतीमा लाग्न थाल्नु भयो । अहिले २ सय सुन्तलाका बोट र ३० घार माहुरी पाल्नु भएकोछ । ‘मेहनत गर्न सके कृषिबाट पनि राम्रो गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो हामी कहाँ देखासिकी गरेर खेती नगर्ने तर अरुले गरेको देखेर रिस गर्ने प्रबृत्ति भएका कारण कृषि क्षेत्रबाट सोचे अनुसार देशले आम्दानी गर्न नसकेको हो ।’
हिमाली र पहाडी क्षेत्रमा ब्यबसायिक खेतीको संभावना
फलफुलमा स्वादिलो मानिने अंगुर बिदेशबाट बर्षेनी करोडौको आयात हुन्छ । तर नेपालको हिमाली जिल्ला देखि पहाडी जिल्लामा ब्यबसायिक रुपमा यसको खेती गर्न सकिन्छ । युरोपियन मुलुकमा लगाउने यो जातको अंगुरलाई समशीतोष्ण हावापानी भएका ठाउँमा ब्यबसायिक रुपमा खेती गर्न सकिने कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत बासुदेब रेग्मी बताउनुहुन्छ । कृषक गुरुङ्गलाई उहाँले नै मुस्ताङ्गबाट बिरुवा ल्याईदिनुभएको थियो । बढी गर्मी नहुने हिमाली र पहाडी क्षेत्रमा यसको खेती गर्न सकेमा कृषकहरुले थोरै मेहनतबाट धेरै आम्दानी गर्न सकिने रेग्मी बताउनुहुन्छ ।
यो जातको अंगुरमा बियाँ नहुने भएकाले खान पनि स्वादिलो हुन्छ । बिरुवा रोपेको दुई बर्षमा नै उत्पादन दिन शुरु हुन्छ । तेस्रो बर्ष देखि ब्यबसायिक रुपमा नै बिक्री गर्न सकिने उहाँको भनाई छ। बजारको पनि समस्या नहुने भएकाले ठुलो क्षेत्रमा बाँझो जमिनलाई उपयोग गरेर अंगुर खेत ीगर्न रेग्मीले युवाहरु र कृषकलाई सुझाब दिनुभएको छ ।