सर्लाही, २८ जेठ ।
सआलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन् ।
बजारमा भारतीय आलु आयात गरिएपछि मूल्यमा आएको गिरावटका कारण यहाँका किसान मारमा परेका हुन् । उचित मूल्य नपाएपछि यहाँका किसानले उत्पादन गरेको आलु बिक्री हुन छाडेका छन् । भारतीय आलु नेपाली बजारमा भित्रिएपछि आफूहरु आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताए । “भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ”, उनले भने, “उचित मूल्य नपाउँदा सडेर जाने खतरा छ । स्थानीय उत्पादित आलुको तुलनामा भारतीय आलु सस्तो छ । त्यसैले स्थानीय आलुले बजार पाउन सकेको छैन ।”
बजारमा अहिले रातो आलु प्रतिकेजी रु २८ र सेतो आलु प्रतिकेजी रु २४ का दरले बिक्री भइरहेको छ । तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यो वर्ष पनि बढ्न नसकेपछि किसानले आलुखेतीको विकल्प खोज्न थालेका छन् । “पहिले आलुखेतीबाट राम्रै फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ”, अर्का किसान शिवजी महतोले भन्नुभयो, “गएको वर्ष पनि आलुखेतीबाट रु ६० हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो ।” पाँच वर्ष पहिले प्रतिकेजी रु ३७ मा बिक्री भएको आलु अहिले रु २५ देखि रु ३० मा बेच्नुपरेको अर्का किसान रोहन महतोको गुनासो छ ।
जिल्लाको हजरिया, राजघाट, शङ्करपुर, सुन्दरपुर र बरहथवा क्षेत्रमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ । बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानले खेतबारीमै आलु थुप्रो लगाएर राखेका छन् । जिल्लामा शीतभण्डारणको व्यवस्था नहुँदा यहाँका किसान थप मारमा परेका छन् । जिल्लामा शीतभण्डारका लागि पटक पटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयवासीले बताएका छन् ।
राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानले बताएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका बेलामा पनि भारतीय आलु आयात हुँदा आफूहरु अचम्मित भएको किसानको भनाइ छ । अहिले जिल्लाका अधिकांश बजारमा भारतीय आलु, प्याज तथा कागतीको बिगबिगी छ ।
परीक्षणविना नै बजार पुग्छ
खुल्ला सिमानाको फाइदा उठाउँदै तरकारी व्यावसायीले परीक्षणबिना नै भारतीय तरकारी तथा फलफूल जिल्लाका विभिन्न बजारमा भित्रियाउने गरेका छन् । सरकारले विषादी परीक्षणका लागि प्रयोगशाला राखिए पनि व्यावहारिक रूपमा निकै कम मात्र परीक्षण गरिएर बजारमा भित्रिने गरेको स्थानीयवासी बताउँछन् । बजारमा उपलब्ध तरकारीमध्ये भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा बढी हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने हुँदा परीक्षण गरेर मात्र भारतीय तरकारी तथा फलफूल नेपाली बजारमा भित्रियाउनेतर्फ सम्बन्धीत निकायले गम्भीरता देखाउन सकेको देखिएको छैन ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏