किसानको मन्त्रीलाई एक किसानको छोरोको पत्र

कृषि पोष्ट संवाददाता

माननीय मन्त्री ज्यू,

तपाईले नै रोजेर लिएको मन्त्रालय सम्बन्धित कृषि क्षेत्रमा आफ्नो भविष्य खोज्दै स्नातकतहमा अध्ययनरत एक कृषि विद्यार्थी हुँ । कृषि क्षेत्रमा सुनौलो भविष्य देखेर कास्कीबाट कृषि विज्ञानको स्नातक अध्ययनर्थ छात्रवृत्तिका लागि लिईने परीक्षामा नाम निकालेर म लमजुङ्ग क्याम्पस २०७२ साल फागुनमा पुगेँ ।

आज भन्दा ४ वर्ष अगाडी तीन हजार भन्दा बढी विद्यार्थी सम्मिलित प्रवेश परीक्षामा प्रतिष्पर्धा गरी सफल भएर कास्कीबाट नजिकैको जिल्ला लमजुङमा ४ दशक अगि स्थापना भएको कृषि विज्ञानको स्नातक तह सम्म पढाई हुने क्याम्पसमा पुग्दा मनमा साँचेका अनेकौं सपनाहरुले मनमा कौतुहलताका छाल मच्चाईरहेका थिए । करिब ४ घन्टाको गाडीको यात्रा पश्चात् पुगेको मेरो सपनाको क्याम्पस पुग्दै गर्दा अनेकौं सपनाहरुले तरेली खेलिरहे । तर कल्पना र वास्तविकता फरक हुँदो रहेछ मन्त्री ज्यू, जस्तो तपाईले सुरुमा मन्त्रालय सम्हाल्दा ताकाको जुन उभार थियो ठीक तेस्तै मनोविज्ञानका साथ क्याम्पस गेट प्रवेश गर्दै थिएँ !

मैले यी सबै मेरा कुण्ठा यहाँ सुनाउनु उपयुक्त लाग्यो माननीय ज्यू, तपाईं भोलिका दिनमा अन्य कुनै मालदार मन्त्रालयको जिम्मा सम्हाल्न पुग्नुहुनेछ र चट्टै विर्सनुहुनेछ कृषि मन्त्रालयको पनि मैले जिम्मेवारी सम्हालेको थिएँ, त्यहाँ कतैकतै कृषकहरुको कुरा पनि कुनै कुनाबाट उठ्थ्यो त धेरै बिचौलियाको बिगबिगी ज्याद्र थियो भनेर ।

म मेरो र भविष्यमा देशको लागि कृषि क्रान्ति गर्ने भनेर तपाईहरुले फलाकिरहने उहीं कसैले पार लाउने नसक्ने कृषि व्यवस्थाको लथालिङ्ग अवस्थाको मात्र कल्पना गर्न विवश भईसकेको छु, मलाई स्नातक अध्ययनार्थ लमजुङ क्याम्पस प्रवेश गर्दै गर्दा जस्तो उभार हराउंदै गएको छ ।

म सटिकमा म जस्ता कृषि क्षेत्रमा भविष्य खोज्दै दौडिएका कैयौं मेरा साथीहरुले भोगेको समस्या यहाँलाई विस्तार गर्ने प्रयास गरेको छु ।

पद्धतिको विकास भएन मन्त्रीज्यू, क्याम्पसको हालत देख्दा धुरुधुरु रुन मात्रै मन लाग्यो । ठूलो आशा र कल्पना सहित गएको मैले नसोचेको रुपमा क्याम्पसलाई पाएँ, क्याम्पसको वातावरणलाई पाएँ ।

कृषि क्षेत्रको भविष्यको नक्सा कोर्ने सिर्जनशिल हातहरुमा कलिला विद्यार्थीको हातले चुरोटका ठुट्टा समाउने रहेछन् । मेरा आँखा अगाडीका यी चित्रहरु सित मेरो कुनै सीप चल्दैनथ्यो र देख्थें विस्तारै चलन यस्तै भन्ने निष्कर्षमा पुग्दै गएँ ।

अर्को राजनीति मुडभेटको लागि अड्डा रहेछ, कृषि क्याम्पस । राजनीतिक सतहको चेत म भित्र नभएको त होइन तर क्याम्पसमा विद्यार्थी सङ्गठनले ल्याएको राजनीतिक स्थिति देखेर वाक्क र दिक्क लाग्दै गए दिनहरु बित्दै गए । राजनीतिको नाममा हिंस्रक प्रवृत्ति सामान्य हुँदै गए । विश्वासै नलाग्ने गरी साउथ ईन्डियन फिल्मका सिनहरु जस्तै लाग्ने क्याम्पसका कथित राजनीतिक मुठभेडका घटनाहरु संग अभ्यस्त हुँदै गएँ ।

कैले काहीं लाग्थ्यो यी विद्यार्थी यति बिघ्न असहिष्णु बन्नु र यहाँको क्याम्पस प्रशासन संक्रमणकालीन रहनुमा विद्यार्थी, नामका मात्र विद्यार्थी संगठन र प्रशासन सबै दोषी छन् अछुतो कोहि रहन सक्दैन । क्याम्पस प्रमुख देखि उपप्रमुखको पदावली परिवर्तन भईरहने र अनेकौं राजनीतिक क्रियाकलाप क्याम्पस भित्र चलिरहनु सामान्य प्राय बन्दै गए, कहिल्यै परिवर्तन भएनन् ।

मानवलाई सहि बाटोमा लैजाने त शिक्षा भनियो पढियो तर क्याम्पसमा शिक्षा भनेको झारा टार्ने शिवाय अरु केहि हुन नसक्दा यस्तो पढेर हामी कस्तो बन्ने भन्ने चिन्ता जहिले लागिरह्यो । फुर्सदको समयमा हावाका गफ बाहेक व्यक्तिगत उन्नती भएको मलाई याद छैन । एउटा प्राविधिक क्याम्पसको प्रयोगशालाको स्थिति हेर्दा झन्डै झन्डै रुवाउने खालको छ भन्दा अत्युक्ति नहोला । तपाईले आफ्नो गृह नगर नजिकैको कृषि क्याम्पस देख्नु भएको छ कि छैन कुन्नी तर यस क्याम्पसको अवलोकन गर्नुहुन एक पटक हजुरलाई यहीं बाटै निम्ता गरें ।

नाम निकाल्दा गमक्क फुलेको मलाई लाज र ग्लानीले आत्तिने नबनाएको होईन । देशकै सबैभन्दा पुरानो र जेठो विश्वविद्यालयको कृषिको एक आङ्गिक क्याम्पसको अवस्था देख्दा मलाई त्यति नै बेला छोडौँ छोडौं नभएको नि होइन । तर कठोर परिश्रमले पाएको छात्रवृति र कृषिबाट केही गर्न सकिने झिने आशाले मलाई क्याम्पस छोड्न नसक्ने स्थितिमा पुर्याएको हो ।

आज फर्केर हेर्दा एक तमासको अनुभव हुन्छ मलाई । म सङ्गै तयारी गरेका साथीहरु स्नातकोत्तर पढ्दै गर्दा, क्याम्पसको ढिलासुस्तीका कारण म जस्ता धेरै विद्यार्थी मारमा परेको छौं । कृषि अनुसन्धान र शिक्षालाई जोड दिने तपाईले ठूला ठूला कुरा गर्दै आउनु भएको थियो वास्तविकता बुझ्न तपाईलाई फुर्सद नभए जस्तो लाग्यो मन्त्री ज्यू !

आकोशित हुन मन लाग्छ, संवेग बढ्छ सोध्न मलाई मन लाग्छ तपाईको हिम्मत कठोर र क्रुर कृषि क्षेत्र उन्नयका लागि कति खर्च हुँदैछ । विल्कुल निराश छु ।

यस विकृत रणभूमिबाट निस्किएका कृषि विज्ञानका विद्यार्थीले तपाईले बनाएको कोठे नीतिलाई पालना गर्न सक्षम हुन्छन् हुँदैनन् वर्तमान र भविष्य चल्दै छ नजिकै छ ।

तपाईँको बोली सुन्दा धेरै आशा लागेको थियो तर मन्त्री भइसके पछि हजुरमा आएको आकस्मिक परिवर्तनले “जति जोगी आए पनि कानै चिरेका” भन्ने भान हुन्छ । थोरै त सरम गर्नुहोस्, यो प्रश्न केवल मेरो मात्र होइन यो म जस्ता तमाम विद्यार्थीहरुको समस्या हो । यो प्रश्न यतिका जनशक्तिलाई कहाँ खपत गराउने भन्ने पनि हो ।

यो अवस्थाको वातावरणबाट हुर्किएको उम्रिएको मेरो कृषि विज्ञानको शिक्षा क्याम्पसमै गतिलो तरिकाले चित्त बुझ्दो छैन भने मैले यहाँबाट गएर के दिउँला राष्ट्रलाई ? एकपटक सोच्नुहोस् त मन्त्री ज्यू !

विद्यार्थीलाई अन्तिम वर्षमा अनुसन्धान गरे बापत श्रोतपत्रलाई बनेर छुट्टाइएको रु २००० को के मूल्य ? के यी सरकारी नुन पानीले चलेका क्याम्पसले उत्पादन गरेका विद्यार्थी सधैं पाश्चात्य मुलुकमा शरण लिन गईराख्नुपर्नै हो ?

पढाई सकाएर केही गर्ला छोरोले ठूलो आश गरेका मेरा बा आमालाई सम्झिन्छु खिन्नता शिवाय अरु हुन म सक्दिनँ । उहाँहरुलाई देख्दा सधैँ भक्कानो छोडेर आउँछ । बाआमाको खुम्चिएको निधार देख्दा मैले केहि गरम् भनेर सङ्कल्प नलिएको पनि होइन तर क्याम्पसको वस्तुस्थतिले परिवेशले म आफूलाई बाँध्न बाध्य हुन्छु ।

अर्को तिर कैयौं कृषकहरुले पाउने भन्ने अनुदान नाममा कार्यक्रमहरुको विकृत अवस्था त्यसमा हावी हुने पहुँचवालाहरु संस्कृति जस्तै मौलाएका छन् । सोंच्छु, आखिर कसको लागि कृषिका यावत योजना ?

के यी समस्यालाई आफ्ना मगजमा हाल्ने चेष्टा गर्न सक्नुहुन्छ मन्त्री ज्यू ? यसैको उत्तरको खोजीमा छु ।

उही राष्ट्रपति आशवान् एक कृषि विद्यार्थी

संगम बस्नेत

लमजुङ क्याम्पस, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏