नेपालमा खोरिया खेती अभ्यास

कृषि पोष्ट संवाददाता

खोरिया खेती एक किसिमको परम्परागत कृषि अभ्यास हो । जसमा खेती, शिकारी र जङ्गली खाद्यान्नको सङ्कलन गरिन्छ । यसमा जमीनमा खनिखोस्री गरी त्यहाँ रहेका बुट्यानलाई जलाएर खेती गर्नका लागि तयार गरिन्छ र त्यस ठाउँमा विभिन्न अन्नबाली, दलहन र तरकारी लगाइन्छ । एक बाली उत्पादन भएपछि केही वर्ष त्यतिकै छाडेर अर्को ठाउँमा त्यसरी नै खेती गरिने भएकाले यसलाई फिरन्ते खेती प्रणाली पनि भनिन्छ । एक बाली लगाएर केही वर्ष त्यतिकै छाडी पछि पुनः खेती गर्दा उत्पादन राम्रो हुने कृषकहरूको विश्वास रहेको पाइन्छ । जमीनलाई त्यतिकै बाँझो छोड्दा त्यहाँ घाँस, डालेघाँस, रुखपात हुर्किन्छ र पछि त्यसलाई फँडानी गरी त्यसमा आगो लगाएर खेतीका लागि ठाउँ तयार गरिन्छ । यसरी फिरन्ते ढङ्गबाट गरिने खेतीको अभ्यासलाई खोरिया फँडानी भनिन्छ ।

खोरिया खेती परम्परागत पद्धतिमा आधारित एउटा निकै पुरानो इतिहास बोकेको खेती प्रणाली हो । विभिन्न सामाजिक, आर्थिक तथा पर्यावरणीय अवस्थामा १०,००० वर्षभन्दा पहिला यसको जन्म भएको मानिन्छ । तर पनि यसलाई विशेषतः खोरिया खेतीमा आश्रित आदिवासी जनजातिले वनविनाश तथा जैविक विविधताको नाश गरी संरक्षणमा नकरात्मक असर पारेको आरोप लाग्ने गरेको छ ।

खोरिया खेती वर्षौं पुरानो अभ्यास हो र यो आदिवासी ज्ञानले युक्त छ । उनीहरूसँग भएको ज्ञानबाट वातावरणमा आउन सक्ने नकारात्मक प्रभावलाई न्यून गर्न मद्दत गर्दछ । यसखालको ज्ञानबाट जलवायु परिवर्तनको प्रभावलाई सामना गर्न सहयोग पुग्नुको साथै एकैखालको खेती लगाउने प्रवृत्ति र एकैखालको खाद्यान्न खाने आदतमा पनि परिवर्तन ल्याउन सकिन्छ । भिरालो जग्गाको फाइदा समथर जग्गाको भन्दा बढी हुन्छ । भिरालो जमीनमा खेती गरिने भएकाले खोरिया कृषि प्रणालीमा आधुनिक प्रविधिलाई प्रयोग गर्न सकिंदैन । तर यसमा बहुबाली लगाउन सकिन्छ । अन्नबालीबाहेक विकल्पका रूपमा फलफूल, तरकारी लगाउन सकिन्छ । वर्षेनी आगो लगाइने भएकाले कीराहरू लाग्ने सम्भावना हुँदैन । खोरिया कृषकहरूले रासायनिक मल प्रयोग नै गर्दैनन् वा निकै कम मात्र प्रयोग हुन्छ ।

नेपालमा खोरिया खेतीको अभ्यासको इतिहास धेरै लामो छ । खासगरी यो अभ्यास नारायणी र बागमती अञ्चलका त्रिशुली, गण्डकी, नारायणी र राप्ति नदीका दाँयाबाँयाको भिरालो जमीनमा अहिले पनि प्रचलनमा रहेको पाइन्छ । खासगरी समुन्द्र सतहदेखि २५०० देखि ४००० फिटको उचाइमा यस खेती प्रणाली अभ्यासमा रहेको पाइन्छ । राज्यले मान्यता नदिए पनि परम्परागत रूपमा यस खेती प्रणाली प्रचलनमा रहँदै आएको छ ।

नेपालका केही आदिवासी समुदायमा खोरिया खेती जीविकोपार्जनको मुख्य श्रोत रहनुको साथै परम्परागत पेशाको रूपमा रहँदै आएको छ । खोरिया खेती (भस्मे) नेपालका २० भन्दा बढी पहाडी जिल्लामा खेर गएका जमीनमा प्रचलनमा रहेको छ । भिरालो जमीनका लागि खोरिया खेती दिगो र उपयुक्त खालको खेती प्रणाली हो । चेपाङ, मगर, गुरुङ, तामाङ, शेर्पा, लिम्बु, राई जातिले पुस्तौँदेखि यस किसिमको परम्परागत खेती प्रणालीलाई अपनाउँदै आएका छन् । आलोपालो कृषि वनको रूपमा खोरिया खेतीलाई लिने गरिन्छ । यो भिरालो जमीन र सिँचाइ सुविधा अभाव रहेको र वर्षात्मा मात्र निर्भर रहनुपर्ने जमीनमा प्रभावकारी र दिगो तरिकाबाट खेती गर्ने विधि हो ।

वास्तवमा खोरिया कृषकसँग खेती प्रणालीसम्बन्धी प्रशस्त ज्ञान र अनुभव रहेको छ । उनीहरूले जीविकोपार्जन गर्ने तरिका जानेका छन्, कृषि र वनलाई एकीकृत गरी प्रभावकारी उपयोग गर्न सक्दछन् । यद्यपि, सरकार र जनसाधारणको धारणा के देखिन्छ भने खोरिया कृषकहरूले वन तथा सरकारी जमीनको अतिक्रमण गर्दछन् र त्यहाँँ आगो लगाएर खेती गर्दछन् । मुलुकमा अनेक राजनीतिक प्रणाली आएपनि पुस्तौंदेखि आफूले खेती गरेको जमीनको स्वामित्व उनीहरूमा आउन सकेको छैन । खोरिया खेती गरिएका जमीन केही सरकारी स्वामित्वमै रहेको छ भने केही स्थानीय टाठाबाठाले आफ्नो नाममा दर्ता गराएका छन् । खोरिया खेतीलाई प्रश्रय दिनेखालको नीति नियम र नकारात्मक दृष्टिकोणले गर्दा देशका पनि उनीहरू उपेक्षित बनेका छन् ।

वस्तुतः खोरिया खेतीको प्रचलित अभ्यासले कृषकको जीविकोपार्जनमा सहयोग पुगेको छैन भने दिगो आयस्ताको स्रोत पनि बन्न सकेको छैन । बढ्दो जनसङ्ख्याका कारण खाद्यान्नको माग बढेसँगै स्थानीय प्राकृतिक स्रोत साधनको उपयोगमा पनि वृद्धि भएको छ । यसले गर्दा पहिलेको जस्तो एक वर्ष बाली लगाएपछि पाँच/सात वर्ष त्यतिकै छाडेर पुनः खेती गर्ने प्रणालीमा परिवर्तन भई वर्षेनी खेती गर्नुपर्ने बाध्यता बढेको छ । यसरी सामाजिक–आर्थिक रूपान्तरणको बढ्दो प्रभावका कारण हालको खोरिया खेतीको अभ्यासमा पनि निश्चित परिवर्तन र आधुनिकीकरण गर्नु आवश्यक छ ।

यस किसिमको कृषि प्रणालीमा भिरालो जग्गामा एक वर्ष खेती गरी केही वर्ष त्यतिकै छाडेर पुनः फाँडफूँड गरी खेती गरिन्छ । यसो गर्दा जमीनको उत्पादकत्व बढ्छ भन्ने मान्यता रहेको छ । एक खेती र अर्को खेतीबीच केही वर्षको अन्तर गर्दा त्यस पाखोमा विभिन्न विरुवा वा घाँसपात हुर्किन्छ र पछि त्यसलाई फँडानी गरी कुहाएर वा जलाएर मलको रूपमा प्रयोग गरिन्छ । खोरिया खेती गर्दा भिरालो जग्गामा रहेका झाडी तथा बुट्यान सफा गरिन्छ । सफा गरिएका झाडीमा आगो लगाइन्छ, जसबाट माटाको उर्वराशक्ति बढाउन मद्दत पुग्दछ । त्यसपछि सामान्य खनजोत गरेर एक वा दुई बाली भित्र्याएपछि सो जमीन दुईदेखि १० वर्षसम्मका लागि बाँझो राखिन्छ, जसलाई स्थानीय भाषामा ल्होसे छोड्ने भनिन्छ । ल्होसे छोडेको समयमा अन्य नयाँ ठाउँमा जङ्गल फाँडेर खोरिया खेती गरिन्छ ।

नेपालमा पहाडी जिल्लामा खोरिया खेती प्रणाली वर्षाैदेखि अभ्यासमा रहिआएको छ । खासगरी जनजातिको घनत्व बढी भएको, गरिबीको स्तर माथि रहेको स्थानमा जीविकोपार्जनको अर्को विकल्प नहुँदा मानिसहरूले खोरिया खेती गर्ने गरेको पाइन्छ । अधिकांश जनजातिका मानिसहरू डाँडा र भिरालो जमीनमा बस्ने भएकाले पनि उनीहरूसँग समथर खेतीयोग्य जग्गा जमीन नहुँदा तिनै भिरालो पाखोबारीमा खेतीपाती गर्ने गर्दछन् । अधिकांश त्यस्ता किसानहरूसँग आफ्नो नाममा दर्ता भएको जमीन पनि छैन । उनीहरू पर्ती पाखो जग्गामा खोरिया खेती गर्न विवश छन् ।

नेपालका पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने करिब २० जिल्लाका मुख्य ठूला नदीहरूका आसपासका क्षेत्रमा खोरियाखेती गर्दै आएको पाइन्छ । खोरियालाई परम्परागत खेती प्रणाली भनिएपनि यसका केही वैज्ञानिक आधारहरू पनि छन् । खोरियाको माटो हल्का हुने भएकाले वर्षात्को समयमा पानीले सजिलै बगाएर लैजान्छ । त्यसले वर्षेनी खेती गर्दा भूक्षयका कारण उत्पादकत्वमा ह्रास आउने भएकाले पहिले मानिसले एक वर्ष खेती गर्ने अनि पाँच/सात वर्ष त्यतिकै छाड्ने गरेका हुन् । यसले गर्दा माटोको उर्वराशक्तिको पुनःभरण पनि हुने गर्दछ । त्यतिबेला जनसङ्ख्याको चाप निकै कम भएकाले वर्षेनी खेती नगर्दा पनि जमीनको अभाव थिएन । तर अहिले जनसङ्ख्या वृद्धिले गर्दा वर्षौंसम्म बाँझो छाड्न सम्भव छैन । १५/२० वर्षमा एकपटक गरिने खोरिया खेती प्रणाली हुने स्थानहरूमा पनि अहिले मुस्किलले एक/दुई वर्ष पर्खिन गरेको देखिन्छ । पर्याप्त जमीन नहुँदा र खाद्यान्नको आवश्यकताले गर्दा अधिकांश ठाउँमा वर्षैपिच्छे खेती गर्न थालिएको छ ।

खोरिया खेती गर्नुअघि बुट्यान, झाडी, फाँड्ने, सुकेपछि त्यसलाई जलाउने गरिन्छ । जलाइसकेपछि खनजोत गरी मकै, कोदोलगायतका अन्नबाली लगाउने गरिन्छ । मकैसँगै मकै, कोदो र मास जस्ता अन्नबालीहरू पनि लगाउन सकिन्छ । यी अन्य बालीभन्दा मकै धेरै छिटो पाक्ने गर्दछ । खोरिया खेतीको मान्यताअनुसार बालीहरू सङ्कलनपछि सो जमीनलाई त्यतिकै वर्षौंसम्म छाडिन्छ । त्यसपछि किसानहरू अर्को जमीनमा त्यसैगरी खोरिया खेती गर्न थाल्छन् । यसरी बैशाख/जेठ महिनामा लगाइएको खेती असोज/कात्तिकमा भित्र्याएपछि उक्त जमीन त्यतिकै छाडिन्छ । यसरी एकपटक खेती गरेर केही वर्षसम्म त्यतिकै छाडेमा माटोमा उर्वराशक्ति बढ्ने र उत्पादकत्व वृद्धि हुने किसानहरूमा विश्वास रहेको पाइन्छ । यसमा केही वैज्ञानिक आधारहरू पनि छन् । उनीहरू खेतीपातीमा रासायनिक मलको विषादी प्रयोग गर्दैनथे ।

खोरिया खेतीको अर्को विशेषता भनेको यसमा प्राकृतिकरूपले मल उत्पादक हुन्छ र विषादी राख्नु पर्दैन भन्ने रहेको छ । डढेलो लगाउँदा त्यसले वातावरणमा पार्ने असरप्रति सचेत पनि देखिंदैनन् । भिरालो जमीनमा पानी पर्नेबित्तिकै बगेर जाने भएकाले उर्वरा माटो अडिन पाउँदैन । यसले गर्दा माटोको गुणस्तर कमजोर हुन्छ । खोरिया खेती गर्दा भिरालो जग्गामा रहेका झाडी तथा बुट्यान सफा गरिन्छ । सफा गरिएका झाडीलाई आगो लगाइन्छ, यसबाट माटोको तापक्रम वृद्धि हुनुको साथै खरानीले माटोको उर्वराशक्ति बढाउन मद्धत गर्छ । खोरियामा सामान्य खनजोत पछि बीउ छरिन्छ । एक वा दुई बाली भित्र्याएपछि सो जमीन केही वर्षको लागि बाँझो राखिन्छ । उनीहरूले फेरि अर्काे नयाँ स्थानमा खोरिया खेती सुरु गर्छन । यसरी एकपछि अर्काे स्थानमा खोरिया खेती गर्दा चेपाङमाथि वन विनास तथा जैविक विविधता नष्ट गरेको आरोप लाग्ने गरेको छ ।

खोरिया खेतीले वृहतरूपमा जमीनको प्रयोग जस्तै बुट्यानहरू फाँड्ने, बाल्ने, खेती गर्ने, शिकार गर्ने र जङ्गलमा उत्पादन हुने खाद्य वस्तुहरूको सङ्कलन गर्नुलाई बुझिन्छ । विकट र भिरालो जमीनको प्रयोगले गर्दा वातावरणीय प्रदूषण र जैविक विविधतामा ह्रास हुने गर्दछ । खोरिया खेतीका लागि प्रशस्त जमीन र कडा परिश्रम गर्नुपर्ने हुन्छ । आदिमकालीन प्रविधिमा आधारित यस किसिमको खेती प्रणालीमा सिँचाइ, उन्नत बीउबिजन रासायनिक मल एवम् विषादीको प्रयोग गरिँदैन ।

खोरिया खेती गरेर उत्पादन बढाउन सकिँंदैन । यस्तो कृषि व्यावसायिक हुँदैन, यसले अर्थतन्त्र चलायमान बनाउन सक्दैन । यो मानव श्रममा आधारित रहेकाले उत्पादन लागत बढी पर्छ भन्नेजस्ता भ्रम नीति निर्माताको दिमागमा बसेको छ । खोरिया खेतीबारे समाजमा रहेका यस्ता भ्रमले पनि यससम्बन्धी राजयको ध्यान जान सकेको छैन । खोरिया खेती जैविक कृषि प्रणालीम आधारित रहेकाले यो रसायनिकभन्दा बढी उत्पादनशील, स्वस्थकर, वातावरणमैत्री र दिगो छ । ९० प्रतिशत रोगकीरा जैविक तरिकाबाट नियन्त्रण गर्न सकिने विभिन्न अध्ययनबाट पुष्टि भएको छ । माटोमा पोषण नभएसम्म र वर्णशङ्कर बीउको प्रयोग भइरहेसम्म कृषि उत्पादनमा वृद्धि र गुणस्तर कायम गर्न सकिंदैन । अहिलेको हाम्रो कृषि पद्धति करिब १० हजार वर्ष पुरानो हो । किसानका अनुभव, खोज र परीक्षणले निरन्तर परिस्कृत हुँदै आएको यो कृषि स्थानीय स्रोत, साधन, प्रविधि र श्रममा आधारित थियो र अहिले पनि कतिपय स्थानमा यसको अभ्यास भएको देखिन्छ ।

खोरिया खेतीलाई अवैज्ञानिक र कम उत्पादन हुने भन्न मिल्दैन । खोरियामा धेरै प्रजातिहरू हुने भएकाले एकल कृषि प्रणालीभन्दा धेरै जैविक विविधता पाइन्छ । केही वर्ष बिराई खेती गर्दा खनिज पदार्थहरू माटोमा प्राकृतिकरूपले पुनः सञ्चार हुन्छन् । तसर्थ, यस्तो प्रणाली पर्यावरणीय दृष्टिकोणबाट दिगो हुने उहाँहरूको भनाइ छ । जनसङ्ख्या बृद्धिसँगै वर्षेनी खोरियामा खेती गर्नाले भने भूस्खलन र बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप बढी निम्त्याएको देखिन्छ । वर्षेनी खेती गर्दा खोरियामा रासायनिक मलको पनि प्रयोग हुने भएकाले माटोको उर्वरा शक्ति क्षीण हुन्छ । खोरिया खेती अभ्यासलाई जैविक विविधताको नोक्सानी, जमीनको माथिल्लो तहको माटोको क्षयीकरण, जलप्रदूषण, पहिरो र बाढीजस्ता वातावरणीय असर गराउँछ भनी आलोचना पनि हुने गर्दछ । (आर्थिक दैनिकबाट)

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏