३ अर्बभन्दा बढीको अलैंची र चिया मौज्दात

कृषि पोष्ट संवाददाता

झापा, १८ जेठ।

पूर्वी नाका काँकडभिट्टाबाट नेपालका प्रमुख नगदेजन्य बाली अलैंची र चियाको निकासी बन्द छ । ९० प्रतिशत बढी अलैंची निर्यात हुने काँकडभिट्टा नाका बन्द भएको २ महिनाभन्दा बढी भइसकेको छ । निकासी बन्द हुँदा अढाई अर्ब रुपैयाँ बराबरको अलैंची नेपालमा नै थन्किएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । “२ हजार मेट्रिक टन अलैंची हामीसँग छ,” कार्कीले भने, “जुन कुल उत्पादनको ४० प्रतिशत हो, ३५ प्रतिशत व्यापारीले खरिद गरेर गोदाममा राखेका छन् भने ५ प्रतिशत किसानसँग छ ।”
कोरोना संक्रमण हुने भन्दै मुख्य सिजनमै निर्यात रोकिएकाले देशभर रहेका अलैंची किसानमा निराशा छाएको कार्की बताउँछन् । “निर्यात रोक्ने सम्बन्धमा भारत सरकारको आधिकारीक निर्णय केही छैन,” कार्कीले भने, “भारतीय भन्सारका प्रतिनिधिले पश्चिम बंगाल सरकारको अलैंची रोक्ने मौखिक जानकारी गराएको बहाना बनाउँदै निर्यात रोक्दै आएका छन् ।” आफ्नो देशको उत्पादन बिक्री गर्नका लागि भारतले नेपाली अलैंची निर्यातमा रोक लगाएको अलैंची व्यवसायीको भनाइ छ ।

नेपाली अलैंची पूर्वी नाका काँकडभिट्टाबाट कोलकाता हुँदै तेस्रो देशमा निर्यात हुन्छ । नेपाल र बंगलादेशको व्यापारका लागि सहज मार्ग नभएकाले नेपाली उत्पादनले बजार पाउन नसकेको अध्यक्ष कार्की बताउँछन् । सरकाले बंगलादेशसँग व्यापार शुरु गर्न पहल नगरे नेपाली अलैंचीले सधैं मार खेप्नु पर्ने अलैंची व्यवसायी बताउँछन् । निर्यात खुलाउनका लागि पछिल्लो समय पश्चिम बंगाल प्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेको कार्की बताउँछन् ।
अलैंची ‘मसलाको राजा’समेत भनिने भएकाले नेपालमा नै अलैंचीबाट विभिन्न मसला उत्पादन गर्न सरकारले उद्योग खोल्नु पर्ने अध्यक्ष कार्कीको माग छ । समयमा नै उचित मूल्य नपाउने, उत्पादन बिक्री नहुने समस्याले गर्दा अलैंची किसान खेतीबाट नै पलायन हुने अवस्थामा पुगेको इलामका अलैंची कृषक राम सापकोटा बताउँछन् ।
झापा बिर्तामोडका अलैंची निर्यातकर्ता सुजित वंशल भारतीय भन्सारले बिना कारण नेपाली उत्पादन रोकेको बताउँछन् । वंशलसँग १५ सय मन अलैंची मौज्दात छ । “असार पछि नयाँ उत्पादन खरिद गर्नुपर्ने हुन्छ,” वंशल भन्छन्, “अहिलेको उत्पादन नै बिक्री भएको छैन ।”
गत वर्ष नेपालमा उत्पादन भएको अलैंचीले ५ अर्ब रुपैंयाँ नेपाल भित्र्याएको थियो । यो कुल उत्पादनको ८५ प्रतिशत बिक्रीबाट आम्दानी भएको महासंघका महासचिव सुवास भट्टराईले बताए । उनले नेपालमा गतबर्ष ४ हजार ७ सय मेट्रिक टन अलैंची उत्पादन भएको जानकारी दिए । अलैचीको खेती बिस्तारसँगै कृषकको संख्यापनि वृद्धि भइरहेको उनले बताए । यद्यपि भारतको आसाम, सिक्किम, अरुणाचल र भुटानमा वृद्धि भइरहेको अलैंची खेतीका कारण नेपाली उत्पादनले चुनौतीको सामना गर्नुपर्ने अवस्था आएको उनले जनाए । पछिल्ला वर्ष झापाको काँकडभिट्टासँगै रानी भन्सार बिराटनगरबाट पनि अलैंची निर्यात हुन्छ ।

३० लाख किलो चिया मौज्दात

विगत दुई महिनादेखि काँकडभिट्टा नाकाबाट चियाको निकासी बन्द हुँदा १ अर्ब रूपैयाँ बराबरको चिया मौजात छ । नेपालको विराटनगर नाकाबाट भारततर्फ चियाको निकासी भइरहेको छ भने काँकडभिट्टा नाकाबाट बन्द छ ।
हिमालयन टी प्रोडियुसर्स कोओपरेटिभ्सका अध्यक्ष उदय चापागाईं अहिले ५० करोड बराबरको पहाडको अर्थोडक्स चिया १० लाख किलो मौज्दात रहेको बताउँछन् । तराइमा उत्पादित ५० करोड बराबरको २० लाख किलो सिटिसी चिया निकासी गर्न नपाएको उनको भनाइ छ ।
नेपालका चिया व्यवससायीले काँकडभिट्टा नाकाको प्रयोग गर्न नपाएपछि केही चिया व्यवसायीले विराटनगर नाकाबाट चियाको निर्यात गर्दै आएको बताए । विराटनगरको नाका हुँदै चिया निर्यात गर्दा घाटा रहेको चापागाईँ बताउँछन् । “विराटनगर–जोगबनी नाकाबाट चियाको निर्यात गर्दा ढुवानी खर्चमा प्रति किलोग्राम भारु ८ रुपैयाँ थपिन्छ” चापागाईँले भने, “विराटनगर आसपास गोदाम हुने केही साथीले उक्त नाकाहुँदै निर्यात सुरु गर्नु भएको छ, चियामा कम नाफा हुने भएकाले सबै व्यवसायीले विराटनगर नाकाको प्रयोग गर्न सक्ने अवस्था छैन ।” भारतमा लकडाउन शुरु भएसँगै भारतको पश्चिम बंगालमा चिया निकासी रोकिएको हो ।
“कोरोना संक्रमण सुरु भएपछि पश्चिमबंगाल विधान सभाका केही सांसद र भारतीय मिडियाको अग्रसरतामा त्यहाँको प्रान्तीय सरकारले काँकडभिट्टा नाकाबाट हुने चियाको निकासीमा अवरोध गरेका हुन्,” चापागाईँले भने, “यस विषयमा हामीले राष्ट्रिय चिया तथा कफि विकास बोर्डमार्फत् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नेपालमा उत्पादित चिया निकासा गर्न सहजीकरणका लागि पत्रचारसमेत ग-र्यौ, तर मन्त्री नै यसमा गम्भीर बन्न सक्नुभएन ।” पश्चिम बंगालका चिया व्यवसायीले नेपालली चियाका कारण भारतको चिया सस्तो भएको र व्यापारमा असर परेको बताउँदै आएका छन् । यो वर्ष कोभिड–१९को कारण देखाउँदै नेपाली चिया रोकेको व्यवसायी बताउँछन् । चिया मात्र नभई नेपालबाट भारततर्फ निकासी हुने सबै मालवस्तु पानीटंकी नाकामा भारतीय कस्टम साथै प्रहरीले रोक्दै आएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏