तरकारी कुहिएपछि कामदारलाई तलब खुवाउन ऋण खोज्दै किसान

कृषि पोष्ट संवाददाता

काठमाडौं, १७ जेठ।

कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको एक महिनाभन्दा बढी भइसकेको छ ।
देशभर जारी लकडाउनको कारण सवारी आवागमन ठप्प छ । सरकारले खाद्य वस्तु एवं अत्यावस्यक वस्तुको ढुवानीमा कुनै रोक नलगाएको बताउँदै आएको छ ।
तर किसानले भने आफ्नो उत्पादन बजार सम्म पु¥याउन नपाउँदा समस्यामा परेका छन् । किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँदा कुहिएर गएको छ ।

चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ का धनश्याम दासले २२ बिगाह जमिनमा तरकारी खेती गरेका छन । लकडाउनको कारण तरकारी विक्री नभएको भन्दै व्यापारीले तरकारी नलैजाँदा उनले गरेको उत्पादन बारीमै कुहिएको छ । तीन बिगाह क्षेत्रफलमा लगाएको पाटे घिरौंला प्रसस्त उत्पादन भएको छ तर विक्री नभएपछि सुकेर गएको छ ।

कुनै बेला एक सय रुपैयाँ प्रतिकिलो विक्री हुने पाटे घिरौंला अहिले सस्तोमा दिंदा समेत विक्री नभएको गुनासो उनको छ । यस्तै १० बिगाह क्षेत्रफलमा लगाएको गोलभेडा र तीन विगाहमा लगाएको लौका सहित अन्य तरकारी पनि विक्री नहुँदा कुहिएर गएको दासको भनाई छ ।

उनले लकडाउन भएयता ५ ट्रक गोलभेडा कुहिएर नष्ट भएको र अझै १० ट्रक कुहिने अवस्थामा पुगेको बताए । उनले अहिले गोलभेडा १० रुपैयाँ प्रतिकिलोमा विक्री गर्न खोज्दा समेत विक्री नभएको बताए ।

लकडाउन हुनभन्दा पहिले नारायणगढ, पोखरा, काठमाडौंको बजारबाट अत्याधिक माग हुने गरेको र मूल्य समेत राम्रो पाउने गरेकोमा अहिले विक्री नभएर समस्यामा परेको कृषक दासले बताए । उनले तरकारी विक्री नभएपछि कामदारलाई तलब खुवाउन र बैंकको किस्ता तिर्न समेत समस्या भएको बताए ।

यसअघि तरकारी उत्पादनबाटै लाखौं आम्दानी गर्दै आएकोमा अहिले कामदारलाई तलब खुवाउन समेत ऋण खोज्नु परेको छ । लकडाउनका कारण यो सिजनमा मात्रै २ करोड रुपैयाँ सम्म नोक्सानी हुने गुनासो उनले गरे ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏