सलह किराको आतंक: महाराष्ट्रमा आक्रमणसँगै नेपालमा खतराको घण्टी

कृषि पोष्ट संवाददाता

जेठ,१५ काठमाडौँ ।

कोरोना भाइरस(कोभिड– १९) को महामारीबाट आक्रान्त नेपालले अब अर्को ठूलो क्षतिको सामना गर्नु पर्ने बताइएको छ ।

संसारमा खाद्य संकट पर्दै गएको र मानव जगतमा नै खानपानको अभावले पार्ने प्रभावका बारेमा चिन्तित हुनुपरेको बेला बालिनाली र खाद्यान्न नष्ट गर्ने सलह भारत हुँदै नेपाल पस्ने अनुमान गरिएको छ ।

चारदेखि ८ करोड फट्याङ्ग्राको एक झुण्ड अफ्रिकाबाट खाडी क्षेत्र अनि इरान र पाकिस्तान हुँदै भारत छिरीसकेको र अर्को बथान हिन्द महासागर हुँदै भारत आएर दिल्ली, झाँसी र उत्तर प्रदेशमा समेत फसिसकेको भारतीय संचारमाध्यमले दिइसकेका छन् । भारतसँग सीमा जोडिएका क्षेत्रमा कोरोनाले बढी आक्रान्त बताए जस्तै यो सलहको बथानले पनि पहिलो आक्रमण सुदुरपश्चिम प्रदेश र भारतीय सीमावर्ती क्षेत्रहरुमा गर्ने अनुमान गरिएको छ ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)ले खाद्यबाली नष्ट गर्ने यो बथानबाट सर्तक हुन सूचना सम्प्रेषण गरिसकेको छ भने कृषि तथा पशुपन्छि विकास मन्त्रालयले समेत सूचना सार्वजनिक गरेको छ । वैज्ञानिक नाम स्विचस्टोसिरका ग्रेगारीया रहेको यो बथान प्रतिदिन १ सय ३० किलोमिटर उड्न सक्ने र ७० हजार मानिसको एक छाक खाना एकै दिनमा सकिदिने बताइएको छ ।

बालिको बोट विरुवा, बाली, फूल, डाँठ र बोक्रा समेत खाने क्षमता सो समूहको रहेको छ । दक्षिण एशियाको वर्तमान मौसम सो बथानका लागि उपयुक्र्त भएकोले यो क्षेत्रमा क्षति बढी हुने अनुमान एफएओको रहेको छ ।

यसबीच नेपाल सरकार कृषि मन्त्रालयले विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाई नेतृत्वको एक कार्यदल गठन गरी यसका बारेमा खोज तथा जोखिम न्यूनिकरणका प्रयास गर्ने बताएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏