कसरी छान्ने स्वस्थ धानको वीउ?

कृषि पोष्ट संवाददाता

नेपालको प्रमुख खाद्यान्न बाली धान लगाउने मुख्य सिजन सुरु हुने बेला भयो। ‘माना रोपी मुरी फलाउने’हाम्रो कथन छ। सदियौंदेखि आ–आफ्नो घरको खाद्य सुरक्षाको लागि तराईदेखि उच्च पहाडसम्म गरिँदै आएको धानखेती मूलतः परम्परागत प्रविधिमै आधारित छ।

धानखेतीको लागि सुधारिएका स्थानीय जातहरु, उन्नत जातहरु, वर्णशंकर (हाइब्रिड) देखि लिएर नौलो किसिमको ‘कालो धान’पनि उपलब्ध छन्। प्रविधिमा एसआरआइ, छरुवा, मेशिनले धान रोप्ने, गोड्ने, काट्ने, चुट्ने, सफा गर्ने आदि छन्। जेजस्तो जातको धान लगाए पनि र जेजस्तो प्रविधि अपनाए पनि धानको बीउ स्वस्थ हुनुपर्छ। यस लेखको उद्देश्य स्वस्थ धानको बीउ कसरी छान्ने भन्ने हो र यो नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत बाली रोग विज्ञान महाशाखा र अन्य अनुसन्धान केन्द्रहरुमा गरिएका अनुसन्धान र प्रकाशनहरुमा आधारित छ।

धानबालीमा धेरै किसिमका रोगहरु लाग्दछन्। तीमध्ये केही बीउबाट सर्दछन्। सबै किसिमका रोगले बीउको गुणस्तर र स्वास्थ्यमा असर पार्दछ, जसको कारण बीउ रोगी हुन्छ (तस्बिर १)। रोगी बीउ साधारणतया साना, आकार बिग्रिएका, चाउरिएका, दाग भएका र सेप्रा हुन्छन् । त्यस्ता बीउ स्वस्थ बीउभन्दा तौलमा हलुका हुन्छन् । यदि हलुका बीउलाई छुट्याएर गर्‍हौँ बीउलाई मात्र बीउको रुपमा प्रयोग गरेमा धानको उत्पादन र गुणस्तर बढ्छ।

तस्बिरः १ विभिन्न ढुसीबाट ग्रसित धानको बीउ (तस्बिर – डिजीआइएसपी, डेनमार्क)

बीउ छान्ने विधिः

तीन लिटर पानीमा लगभग ५०० देखि ६०० ग्राम नुन एउटा बाल्टीनमा राम्ररी घोल्ने। मसिनो धानको लागि ५०० ग्राम र मोटा धानको लागि ६०० ग्रामका दरले। घोलिएको नुन–पानीमा एक किलोग्राम जति धान खन्याउने, एकैछिन चलाउने र १ मिनेट जति बीउलाई तैरिन र थिग्रिन दिने (तस्बिर २)।

तैरिएका र थिग्रिएका बीउलाई अलगअलग झिकेर छुट्टै राख्ने। बाँकी बीउलाई त्यसरी नै सोही नुन–पानीको घोल प्रयोग गर्दै छुट्याउने।

बीउको मात्रा धेरै वा थोरै भए सोहीअनुरुप नुन–पानीको घोलको मात्रालाई बढाउन वा घटाउन सकिन्छ। थिग्रिएको बीउलाई सफा पानीले २ पटक सफा गरी व्याड राख्ने। छरुवा धान भए सिधै छर्ने। यसरी छानेको बीउलाई सोही दिन ब्याड नराख्ने वा नछर्ने भए बीउलाई पानीले पखाली छहारीमा राम्ररी सुकाएर राख्न सकिन्छ। तैरिएको बीउलाई पनि पानीले पखालेर र सुकाएर अन्य प्रयोजनमा ल्याउन सकिन्छ। नुन–पानीको घोललाई गाईभैंसीको कुँडो बनाउँदा प्रयोगमा ल्याउन सकिन्छ।

तस्बिर २ः १५% को नुन–पानीको घोलमा थिग्रेका र तैरिएका धानको बीउ (खुमल–४)

छानेको बीउमा भिन्नताः

थिग्रिएको बीउको तौल तैरिएकोभन्दा १५ देखि २५ प्रतिशतले बढी हुन्छ । थिग्रिएका बीउ पोटिला, दाग कम भएका र चहकिला हुन्छन् । तैरिएका बीउ सेप्रा, दाग परेका र फुस्रा हुन्छन् (तस्बिर ३)।

तस्बिर ३ः२०% को नुन–पानीको घोलमा थिग्रेका धानको बीउ (बायाँ) र तैरिएका बीउ (दायाँ), ताइचुङ–१७६

छानेका बीउमा रोगका जीवाणुको प्रकोप

थिग्रिएका बीउमा विभिन्न रोगहरु जस्तै ब्लाष्ट, खैरो थोप्ले, फेद कुहिने, डढुवा, दाना डढुवा, दागीदाना, आदिका जीवाणुको प्रकोप तैरिएका बीउमा भन्दा ४० देखि ६० प्रतिशतले कम हुन्छ। यो कुरा परीक्षणबाट सिद्ध भएको हो। तसर्थ थिग्रिएका बीउ तैरिएकाभन्दा स्वस्थ हुन्छ।

छानेको बीउको असरः

थिग्रिएका बीउको उमार शक्ति तैरिएका बीउको भन्दा १५ देखि २५ प्रतिशतले बढी हुन्छ, चाँडो उम्रन्छ र बोट स्वस्थ हुन्छ (तस्बिर ४) । बीउ छान्ने क्रममा धेरैजसो रोगी बीउ हट्ने हुँदा ब्याड र खेतमा बीउबाट सर्ने रोगका जीवाणुको स्रोत र प्रकोप पनि कम हुन जान्छ।

फलस्वरुप धानको उत्पादन र गुणस्तर बढ्छ। ठाउँ र अवस्था हेरी साधारणतया १० देखि १५ प्रतिशतसम्म उत्पादन बढेको पाइन्छ। यो नेपाललगायत विभिन्न देशमा कृषकहरुको सहभागितामा भएका परीक्षणहरुबाट सिद्ध भएको हो । काठमाडौं उपत्यका, डोटी, जुम्ला, नुवाकोट, धनुषा, महोत्तरीलगायतका जिल्लाहरुमा यसबारे परीक्षण भएका थिए ।

तस्बिर ४ः १५% को नुन–पानीको घोलमा थिग्रेका धानको बीउबाट उम्रेका बेर्ना (बायाँ) र तैरिएका बीउबाट उम्रेका बेर्ना (दायाँ)

(यो सामग्री हीराकाजी मानन्धर, गोपालप्रसाद पराजुली, वेदानन्द चौधरी, ज्ञानु मानन्धर, सूर्यप्रसाद श्रेष्ठ, भोलामान सिंहबस्नेत र यान टर्पले तयार गरेको तथा नार्कअन्तर्गत बाली रोग विज्ञान महाशाखा र डेनिस सिड हेल्थ सेन्टरले प्रकाशन गरेको पोस्टर/लिफलेटमा आधारित छ।)

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏