पौने ८६ अर्बको लगानी प्रतिवद्धता आउँदा कृषिमा जम्मा ७४ करोड

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

कृषि प्रधान भनेर चिनाउन निकै प्रयास गरिएको देशमा कृषि क्षेत्रमा आएको लगानी भने निकै कम रहेको छ । उद्योग विभागको पछिल्लो तथ्यांकले कृषि क्षेत्रमा निकै कम उद्योगहरु दर्ता भएको देखाएको हो ।यसले कृषि प्रधान देशको नारालाई फेरी एकपटक नारा र सिद्धान्तमा मात्रै सीमित गरिदिएको छ ।

चालू आर्थिक वर्षको मंसिर २६ गतेसम्ममा कृषि क्षेत्रमा जम्मा ७ वटा मात्र उद्योग दर्ता भएका छन् । कूल १ सय ६८ वटा उद्योग दर्ता भएकोमा कृषि क्षेत्रमा भने ७ वटा मात्र उद्योग दर्ता भएका हुन् ।

उत्पादनमूलक, उर्जामूलक, सूचनामूलक, सेवामूलक, पर्यटन र कृषि क्षेत्रमा गरी कूल ८५ अर्ब ८३ करोड रुपैयाँ लगानी प्रस्ताव आउँदा कृषिमा जम्मा ७४ करोड रुपैयाँको मात्र लगानी प्रस्ताव आएको हो ।

यस्तै वैदेशिक लगानीतर्फ हेर्दा ३ वटा नयाँ उद्योगका लागि लगानी प्रस्ताव आएको तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षको मंसिरसम्ममा कूल ३९ अर्ब ४७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएकोमा कृषितर्फ जम्मा ४२ करोड रुपैयाँको लगानी प्रस्ताव आएको हो ।

उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको मंसिर २६ गतेसम्म वैदेशिक लगानी प्रस्तावको तुलनामा आन्तरिक लगानीको प्रस्ताव कम आएको देखिन्छ ।

वैदेशिक लगानीमा कोल्डस्टोरदेखि लामखुट्टे मार्ने धूप उत्पादन गर्ने कम्पनीसम्म

चालू आर्थिक वर्षमा वैदेशिक लगानीमा ३ वटा उद्योग दर्ता भएका छन् । उक्त उद्योग मध्ये २ वटा चिनियाँ लगानी प्रस्ताव हु्न् । अर्को भने भारतीय र नेपालीको संयुक्त लगानी प्रस्ताव हो ।

चिनियाँ लगानीमा एउटा फलफूल तथा तरकारी स्टोर गर्ने कोल्डस्टोर र अर्को मासु स्टोर गर्ने कोल्डस्टोर निर्माणका लागि प्रस्ताव आएको हो । यी लगानी क्रमशः ५ करोड र १५ करोड रुपैयाँका लगानी प्रस्ताव हुन् । फलफूल तथा तरकारी स्टोरमा ६ हजार मेट्रिकटन फलफूल तथा तरकारी अटाउने जनाइएको छ ।

यसैगरी, भारतीयको ६६ प्रतिशत र बाँकी नेपाली लगानीमा लामखुट्टे मार्ने धूप उत्पादन गर्ने उद्योगको लागि पनि लगानी प्रस्ताव आएको हो । यो उद्योगको कूल लगानी २२ करोड रुपैयाँ हो ।

आन्तरिक लगानीमा बन्ने कृषि उद्योगहरु

नेपालमा आन्तरिक लगानीमा ४ वटा नयाँ उद्योग दर्ता भएका छन् ।डीजी पोल्ट्री निर्माणका लागि १३ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हो । उक्त पोल्ट्री फर्म धादिङमा बनाउन उद्योग दर्ता भएको विभागको तथ्यांकले देखाएको छ । सो पोल्ट्रीले वार्षिक ८ लाख कुखुराका चल्ला र ११ लाख अण्डा उत्पादन गर्ने छ ।

यस्तै, अन्नपूर्ण रिसर्च सेन्टर एण्ड फार्मिङ सञ्चालनका लागि १९ करोड रुपैयाँ लगानी गरिने भएको छ । उक्त सेन्टर नवलपरासीमा खोल्न लागिएको हो ।

आन्तरिक लगानीमै धादिङमा ज्यामरुङ एग्रीकलचर फार्म खुल्ने भएको छ । फार्म ५० लाख लगानीमा सञ्चालनमा ल्याउने गरी उद्योग विभागमा दर्ता भएको हो । सो उद्योगले फलफूल तथा तरकारी उत्पादन गर्नेछ ।

यस्तै, ललितपुरमा मनिखेल जडिबुटी फार्म, सिन्धुलीम सिन्धुली बिड्रिङ फार्मलगायतका कृषि उद्योग दर्ता भएका हुन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏