कागती खेती गर्ने तरिका : कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ?

कृषि पोष्ट संवाददाता

हाम्रो देशमा कृषि पेशालाई व्यावसायिकरुपले खेती गर्ने कृषकहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । त्यसैले गर्दा पनि कृषि पेशामा नै बढी निर्भर हुनुपर्ने बाध्यता छ । कृषि पेशामा पनि कोही फलफूल खेतीतिर लागेका छन् भने कोही अन्नबालीतर्फ । त्यसैमा पनि अन्न बालीमा भन्दा तरकारी खेतीमा बढी नै आम्दानी हुने देखेपछि यसतर्फ बढी नै आकर्षित भएको पाइन्छ ।

यसबाहेक पनि आयआर्जन गर्ने अझै धेरै बाटाहरु छन् । तर त्यसतर्फ कोही लागेको देखिदैन । आजकाल फलफूल खेतीमा कलमी बनाई बिक्री गरी अझ बढी फाइदा लिन सकिन्छ । जस्तैः कागतीका बेर्ना तयार गर्ने र कलमी गर्ने । तर यो पेशा त्यति सजिलो छैन । मेहनती कृषकले मात्रै काम गर्न सक्छन् । यदि यो पेशा राम्रोसंग फस्टाउन सके मनग्य आम्दानी लिन सकिन्छ । आज यिनै विषयवस्तुलाई मध्यनजर गर्दै कागतीका बेर्ना तयार गर्ने विषयमा केही जानकारी गराउने प्रयास गरेका छौं ।

यसको खेती १५ सय मिटर उचाइसम्म गर्न सकिन्छ । यसको फलबाट रस, चुक र अचारहरु बनाएर पनि प्रशस्त आम्दानी लिन सकिन्छ ।
कागती दुई प्रकारका हुन्छन् । एउटा गोलोखाले र अर्को लाम्चोखाले । गोलो खालकोलाई पहाडी कागती भन्ने गरिन्छ भने लाम्चो जो उन्नत खालको हो त्यसलाई ‘युरेका लेमन’ भन्ने गरिन्छ । यो ठूलो र लाम्चो हुन्छ भने अर्को गोलो तर सानो हुन्छ । यी दुबै जातका बिरुवाहरु जुनसुकै माटोमा पनि लगाउन सकिन्छ तर दोमट माटो भएमा धेरै नै राम्रो मानिन्छ । यसको लागि व्यवस्थित तरीकाबाट खेती गर्न शुद्ध जातको बेर्ना आवश्यक पर्दछ । यदि जात राम्रो भएन भने, अमिलो वर्गमा लाग्ने विभिन्न किसिमका रोगहरुले दुःख दिई राम्रो उत्पादन लिन सकिदैन । तसर्थ सरकारी फार्महरुबाट खरीद गर्ने अथवा आफैले शुद्ध जातको बीऊ ल्याई बेर्ना तयार गरी लगाऔं । यदि आफैले नै बेर्ना उत्पादन गरी लगाउने हो भने राम्रो जातका निरोगी कागतीका दानाहरु खरीद गरी त्यसका बीऊहरु निकाली बेर्ना तयार गर्ने गर्नुपर्दछ ।

अब कुरा आउँछ बेर्ना तयार कसरी गर्ने ? बेर्ना दुई तरीकाबाट तयार गर्ने गरिन्छ, एउटा गेडाबाट र अर्को कलमीबाट । यी दुईवटै तरीकाबाट तयार गर्ने प्रविधि निम्नानुसार छ :

गेडाबाट तयार गर्ने प्रविधिः

धेरैजसो कागतीका बेर्नाहरु गेडाबाट नै तयार गरिन्छ । एउटा कागतीको फलमा चारदेखि १० वटासम्म दानाहरु हुन्छन्, ती दानाहरुलाई संकलन गरी १५०-२०० जति दाना भएपछि बेर्ना तयार गर्न शुरु गर्नु राम्रो हुन्छ । बेर्ना तयार गर्नुपूर्व जमिनलाई राम्रोसंग खनजोत गरी माटो मसिनो बनाउने र त्यसमा प्रतिकट्ठा १५-२० डोकाका दरले पाकेको गोवरमल वा कम्पोष्ट मल राखी माटोमा मिलाउने ।

यसपछि २० सेन्टिमिटरको फरक–फरकमा दुई सेमी गहिरो हुने गरी कुलेसो खनी त्यस लाइनको कुलेसोमा ५-५ सेमीको दूरीमा १-२ वटा कागतीका गेडा रोप्नुपर्दछ । यसरी बीऊ रोपिसकेपछि माथिबाट, बालुवा र माटोले पुरिदिने र त्यसमाथिबाट सुकेको खर वा परालले छोपी दिनुपर्दछ । यसरी राखेको व्याडमा चिस्यान हेरी हल्का सिंचाई दिदै गर्नुपर्दछ ।

बीऊ रोपेको लगभग एक महिनापछि बेर्ना उम्रिन थाल्छन् । खर पराल फालिदिई आवश्यकताअनुसार सिंचाई दिदै जानुपर्दछ । यदि बीऊलाई प्लास्टिक व्यागमा उमोर्ने हो भने माटो बालुवा र गोवर मलको मिश्रण बनाई प्रत्येक प्लाष्टिक व्यागमा राखी त्यसमा १-२ वटाका दरले बीऊ रोपी बज्यारीमा लाईनसंग राख्नु पर्दछ । यसरी राखेको बेर्नालाई पनि सिंचाई दिई नै रहनुपर्दछ । यसरी राखेका बेर्नाहरु लगभग १० महिनापछि रोप्ने लायकका हुन्छन् । यदि व्याड वर्षायाममा राख्ने हो भने व्याडको माथि पराल, खर राख्नु पर्दैन ।

गुढी (कलमी) बाट बेर्ना तयार गर्ने प्रविधि :

राम्रो, रोगरहित शुद्धजातको कागतीको बोट छनोट गरी त्यसैबाट कलमी गर्नुपर्ने हुन्छ । जथाभावी बेर्नाबाट कलमी गर्दा बोटहरु रोगी हुन सक्छन् । यो प्रविधिबाट तयार गरिने बेर्नाहरु चॉडै फल्ने, बोट सानो हुने र फल माउ बोट सरह हुन्छ भने गेडाबाट तयार गरिएका बेर्नाहरु अग्लो हुने, ढिलो फल्ने हुन्छन् गुढी (कलमी) गर्नको लागि १-२ वर्षे बोटको हॉगाबाट गर्दा धेरै राम्रो र सजिलो हुन्छ ।

कलमी गर्ने हॉगाको छनोट गरी सकेपछि बोटमै १५ सेन्टिमिटरको लम्बाइमा बोक्रा निकाली, त्यसपछि बोक्रा निकालेको ठाँउमा माटो, बालुवा र गोवर मिलाएको माटो या रुखका झ्याउहरु बाक्लोसंग चारैतिर राखी बाहिरबाट प्लास्टिकले छोपी, दुबैतिरको छेउछाउमा सुतलीले बॉधी दिने गर्नुपर्दछ । यदि चॉडै जरा निकाल्नु छ भने जरा निकाल्ने हर्मोन काटेको ठाउमा चारैतर्फ दलिदिएर माटो राखी बॉध्नुपर्दछ । यसो गर्दा जराहरु चॉडै नै निस्कने हुन्छ । यस्तो कलमी वर्षायाममा नै गर्नु धेरै राम्रो हुन्छ । तर अन्य समयमा पनि गर्न सकिन्छ त्यति सफल भएको देखिदैन । यसरी तयार गरेका बेर्नाहरु डेढदुई महिनामा जराहरु देखिन थाल्छन् । जरा देखिन थालेपछि कलमी गरेको तलबाट सावधानीसंग काटी माटो मिश्रित थैलामा वा सोझै व्याडमा लगि राख्न सकिन्छ ।

यसरी तयार गरिएका बेर्नाहरु लगाउँदा १-२ वर्षमा नै फल दिन शुरु गर्दछन् । कहिलेकाहीं बेर्नाहरुमा रोग कीराहरुले नोक्सान पु¥याउन सक्छन् । त्यस्तो अवस्थामा सकेसम्म गाँउघरमा पाइने जडीबुटीबाटै नियन्त्रण गर्ने र त्यो सम्भव नभएमा मात्रै विषादी प्रयोग गर्नुपर्दछ । यसरी तयार पारिएका बेर्नाहरु प्रशस्त मात्रामा बिक्री गर्न सके, बेर्ना बिक्रीबाट राम्रो फाइदा लिन सकिन्छ ।

पुनश्च-यो जानकारी सम्बन्धी केहि जिज्ञासा भएमा कमेन्ट गर्न सक्नुहुन्छ । अथवा लामो समय देखि कागती खेतीमा लाग्नु भएका बालचन्द्र चौलागांई जि संग पनि सम्पर्क गर्न सक्नुहुनेछ । फोन नं- (९७४१३३६१६२)

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏