अदुवा खेती कति उचाईसम्म गर्न सकिन्छ ? व्यवसायीक अदुवा खेती गर्ने तरिका

कृषि पोष्ट संवाददाता

अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, रुघा, सर्दी जस्ता रोगहरुमा औषधिका रूपमा प्रयोग गरिन्छ ।

अदुवाको खेती गर्न प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटोको आवश्यकता पर्दछ । अदुवा छहारी भएको तथा सेपिलो ठाउँमा राम्रो उत्पादन हुने हुँदा सोही अनुसारको ठाउँको छनोट गर्नु पर्दछ । अदुवा मुख्य गरी २ किसिमका हुन्छन् जसलाई नसे र बोसे भनिन्छ । जसमध्ये बोसे जातको अदुवा व्यावसायिकरूपमा बढी महत्व भएको पाईन्छ । कपुर कोट १ नामको बोसे जातको अदुवा बढी फल्ने र धुलो बनाउँदा पनि बढी निस्कने भएकोले बजारमा यसको राम्रो मूल्य पाइन्छ ।

अदुवा खेतीका लागि कस्तो हावापानी आवश्यक पर्दछ ?

अदुवा खेती न्यानो तथा ओसिलोपना भएको स्थानमा राम्रो हुन्छ। यो प्रायः खुल्ला वातावरणमा खेती गरिने भएतापनि प्रचण्ड गर्मी र घाम लाग्ने ठाउँमा छायाँ पनि त्यतिकै आवश्यक पर्दछ। अदुवा बढ्ने अवस्थामा दिनको तापक्रम २० देखि ३० डिग्री सेल्सियस हुनुपर्दछ भने ३५ डिग्री सेल्सियस भन्दा बढी तापक्रम उपयुक्त हुँदैन।बढि बादल लाग्ने ठाउँ राम्रो मानिँदैन।
अदुवा खेती समुद्र सतह देखि कति उचाईसम्म गर्न सकिन्छ ?

यसको खेती समुद्र सतहबाट ९०० देखि १५०० मिटरसम्म सफलताका साथ गर्ने गरेको पाइन्छ।
अदुवा खेतीका लागि वार्षिक वर्षा कस्तो हुनु पर्दछ?

अदुवा खेतीको लागि १५०० देखि ३००० मिमि वर्षा पर्याप्त हुन्छ।
अदुवा खेतीका लागि मोहडा कस्तो हुनु पर्दछ?

अदुवा खेतीको लागि दक्षिण-पूर्वी मोहडा भएको जमिन राम्रो हुन्छ तर पनि अन्य कुराहरु अनुकूल भएमा जुनसुकै मोहडा भएको जमिनमा अदुवा खेती गर्न सकिन्छ।
अदुवा खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

अदुवाकोखेती ५.५ देखि ६.५सम्म पि.एच. मान भएको जुनसुकै माटोमा पनि गर्न सकिन्छ तर त्यस्तो ठाउँपानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको,दोमट माटो भएमा अझ राम्रो हुन्छ।
नेपालमा अदुवा बालीका कुन–कुन जातहरु पाइन्छन् ?

नेपालमा स्थान विशेषमा आफ्नै खास गुण भएका अदुवाका स्थानिय जातहरु खेती गरिन्छ। बढी नसा भएका अदुवालाई नसे तथा रेशा कम भएका अदुवालाई बोसे नाम दिएको पाईन्छ। नेपालमा कपुरकोट अदुवा-१ सबैभन्दा प्रचलित जात हो। यो २०५६ सालमा उन्मोचन गरेको जात हो।
कपुरकोट अदुवा-१ जातको विशेषता के के छन् ?

यसजातकोअदुवामा रेशा ४% भन्दा कम हुने, यसको गानो ठूलो हुने,यसमा सुगन्धित तेल २.१६% र ओलियोरेजिन ७.१२% पाईने, यसबाट सुठो १८% बन्नेर ३० देखि ४० मे.टन प्रति हेक्टर उत्पादन क्षमताभएका विशेषताहरु छन्।
अदुवा खेतीको लागि जमिनको तयारी कसरी गरिन्छ ?

अदुवा लगाउनका लागि पानी नजम्ने जमिनको छनौट गर्नु पर्दछ। जग्गालाई २-३ पटक जोती, डल्ला फुटाई माटो बुरबुराउँदो बनाई कम्पोष्ट अथवा गोबर मल मिसाउनु पर्दछ।
अदुवा खेतीको लागि प्रति रोपनी अदुवाको बीउ कति लाग्दछ ?

बीउको आकार, मोटाई, जात तथा लगाउने तरिका अनुसार अदुवाको बीउको परिमाण फरक पर्दछ। साधारणतः प्रति रोपनी २२५ देखि २७५ के.जी. बीउ लाग्दछ।
अदुवाको बीउको छनौट कसरी गरिन्छ ?

अदुवाको बीउ बनाउँदा ५०-६० ग्राम तौल भएको, रोग नलागेको, नचाउरिएको, बीउको टुक्रामा कम्तिमा एउटा टुसाउने भाग भएको, बोक्रा नखुईलिएको, नकाटिएको र लामो टुसा नआएको बीउ छनौट गर्नु पर्दछ।
अदुवाको बीउको उपचार किन गरिन्छ ?

अदुवाको बीउको उपचार मुख्यतः बीउ गानोबाट सर्ने रोगबाट बचाउन गरिन्छ। बीउको उपचार दुई पटक गर्नु पर्दछ। पहिलो भण्डारण गर्नु अगाडी र दोश्रो लगाउनु अघि उपचार गर्नु पर्दछ।
अदुवाको बीउको उपचार कसरी गरिन्छ ?

अदुवाको बीउलाई डाईथेन एम-४५ को घोलमा (२.५ ग्राम प्रति लिटर पानीका दरले) १ घण्टासम्म डुबाई उपचार गर्नु पर्दछ। उपचार पश्चात् पूर्णतः छायाँमा ओभाउनु पर्दछ र ओभाएपछि मात्र भण्डारण वा खेतबारीमा रोप्नु पर्दछ।
अदुवाको बीउ कसरी रोपिन्छ?

अदुवाको बीउ रोप्दा हारबाट हारको दूरी ३० से.मि. र बोट देखि बोटको दुरी पनि ३० से.मि. कायमहुने गरी ७ देखि १० से.मि. को गहिराईमा रोप्नु पर्दछ।प्रत्येक चार लाईन अदुवा पछि ३०-४० से.मि. खाली ठाउँ बिरुवाको स्याहार सम्भारका लागि छोड्नु पर्दछ।
अदुवा खेती गर्दा मलखादको ब्यवस्थापन कसरी गरिन्छ ?

प्रति रोपनी जग्गाको लागि २मे.टन गोबरमल, ६ के.जी. यूरिया, ५ के.जी. डि.ए.पी., ४ के.जी. पोटासमलको आवश्यकता पर्दछ।

अदुवा खेतीको लागि छापो राख्ने कार्य कतिको महत्वपूर्ण छर कसरी गरिन्छ ?

अदुवा खेतीको लागि छापो वा मल्चिङ्ग गर्नु अनिवार्य छ। यसको प्रयोगबाट माटोमा चिस्यान बचाई राख्न, झार नियन्त्रण गर्न, माटोमा प्राङ्गारिक पदार्थ बढाउन महत्वपूर्ण योगदान दिन्छ। छापोको रुपमा स्थानिय स्तरमै पाउने सुकेको सोत्तर, हरियो स्याउला, खर, पराल, धानको भुस आदि प्रयोग गर्नु पर्दछ।
अदुवा बालीमा गोडमेल किन र कसरी गर्नु पर्दछ ?

झारपातबाट हुने खाद्यतत्वको प्रतिस्पर्धा रोक्न, जरा, पानातथा बोटहरुमा हावाको संचार गराउन गोडमेल गर्न जरुरी हुन्छ। गोडमेल गर्दा पहिलो पटक उम्रेको एक महिना पछि पानालाई असर नपर्ने गरी र दोश्रो पटक उम्रेको दुई महिना पछि पानालाई असर नगर्ने गरी सावधानीपूर्वक गोडमेल गर्नु पर्दछ। सम्भव भएसम्म हातैले झारहरु उखेल्नु पर्दछ।
अदुवा बालीमा सिंचाईकोआवश्यकता पर्दछ?

नेपालमा सामान्यतया वर्षायाममा र पाखोबारीमा अदुवा खेती गरिने हुँदा सिंचाईको आवश्यकता पर्दैन। तर सिँचाईको सुविधा भएमा मनसुन सकिएपछि आश्विन महिनामा १५ दिनको फरकमा २ पटकसिँचाई दिँदा उत्पादनमा वृद्धि र गुणस्तरीय अदुवा उत्पादन हुन्छ।
अदुवा बालीमा ब्रुनी वा माउ निकाल्ने भनेको के हो?

ब्रुनी वा माउ निकाल्ने भनेको लगाएको अदुवा बाली तयार नहुँदै लगाएको बीउ गानो बिरुवा स्थापित भैसकेपछि बिरुवाबाट विस्तारै अलग गरी माटो बाहिर निकाल्ने तरिका हो। यसरी ब्रुनी निकाल्दा लगाएको बीउको ९० प्रतिशतसम्म निकाल्न सकिन्छ। यसरी निकालेको ब्रुनी बिक्री गर्दा बीउमा लागेको झण्डै ५० प्रतिशत खर्च फिर्ता पाउन सकिन्छ।
अदुवा बालीमा लाग्ने मुख्य–मुख्य कीराहरु कुन कुन हुन् ?

अदुवा बालीमा लाग्ने कीराहरुमा खुम्रे, गवारो, गाने औंसा, पात बेरुवा, कत्ले र स्पाइस बिटल मुख्य हुन्।
अदुवा बालीमा लाग्ने गवारो कीराको नियन्त्रण कसरी गर्न सकिन्छ?

यसको लाभ्रेले सराको ५-७ से.मि. माथि फेदमा प्वाल पारी गुबो खाँदै टुप्पा तिर जान्छ। यसले गर्दा सरा सुक्दछ। यसको नियन्त्रणका लागि रोगर वा डेसिसको ०.१ प्रतिशतको घोल छर्नु पर्दछ।
अदुवा बालीको गाने औंसाको नियन्त्रण कसरी गर्न सकिन्छ?

राइजोम फ्लाईका म्यागोटलाई गाने औंसा भन्दछन्। अदुवाको गानो कुहिन थाल्यो भने गन्धले झिङ्गा आकर्षित हुन्छन् र औंसा परेपछि सड्ने क्रममा तीव्रता आउँछ।यसको रोकथामको लागि ढुसीनाशक विषादिको साथमा कीटनाशक विषादि पनि मिसाई रोगी बोटको वरिपरि गानो भिज्ने गरी ड्रेन्चिङ्ग गरेमा रोग र कीरा दुबैको नियन्त्रण हुन्छ।
अदुवा बालीमा देखा पर्ने मुख्य मुख्य रोगहरु कुन कुन हुन् ?

अदुवा बालीमा लाग्ने रोगहरुमा गानो कुहिने, सुके सडन वा पहेंलो रोग, पातमा लाग्ने थोप्ले रोग आदि मुख्य हुन्।

अदुवा बालीको गानो कुहिने रोगको नियन्त्रण कसरी गर्न सकिन्छ ?

यो रोग रोप्नु अघि नै बीउ गानोमा ढुसीको संक्रमण भै रहेको रहेछ भने उम्रिने बित्तिकै टुसाहरुमा पानीयुक्त धब्बाहरु देखिन्छन्। रोग बढ्दै गएमा टुसाहरु नै मर्दछन्। यसको रोकथामका लागि रोगरहित क्षेत्रबाट मात्र बीउ ल्याउने। रोग अवरोधी वा रोग सहन सक्ने जातको प्रयोग गर्ने, बाली-चक्र अपनाउने तथा प्रारम्भिक लक्षण देखिना साथ बेभिष्टिन १ ग्राम प्रति लिटर पानीमा मिसाई बोट भिज्ने गरी ड्रेन्चिङ्ग गर्नु पर्दछ।
अदुवा बाली तयार भएको कसरी पत्ता लगाउने र प्रति रोपनी कतिसम्म उत्पादन हुने गर्दछ ?

अदुवा खन्ने समय हावापानी, जात, उपयोग तथा बजारको मागमा भर पर्दछ। साधारणतया ७५ प्रतिशत सरा (बोट) सुकेर ढल्न थाल्यो भने बाली तयार भएको मानिन्छ। नेपालमा अदुवाको उत्पादन क्षमता २ मे.टन प्रति रोपनी रहेको छ।
अदुवाको सरसफाई तथा ग्रेडिङ्ग कसरी गरिन्छ ?

अदुवाको सरसफाई गर्दा गानोमा टाँस्सिएको माटो, जरा आदिलाई सफा गर्ने र अदुवाको ग्रेडिङ्ग गर्ने क्रममा काटिएका, रोग लागेका र टुक्रिएका गानाहरु तथा माउ वा ब्रुनीलाई पनि अलग छुट्ट्याएर राख्नु पर्दछ। यसरी छुट्ट्याईएको राम्रो गुणस्तरको अदुवालाई बीउ प्रयोजन तथा सुठो बनाउन प्रयोग गरिन्छ।
अदुवाको भण्डारण कसरी गर्न सकिन्छ ?

अदुवा भण्डारण गर्दा उपयुक्त वातावरण नमिलेमा अदुवा सुक्ने, चाउरिने, लामो टुसा आई गुणस्तर घट्ने तथा कुहिएर नोक्सान हुने गर्दछ। तसर्थ अदुवालाई १२-१४ डिग्री सेल्सियस तापक्रम र ६५-७० प्रतिशत आर्द्रता भएको भण्डार घरमा भण्डारण गर्दा ५ देखि ६ महिनासम्म पनि अदुवालाई भण्डारण गर्न सकिन्छ।
सुठो भनेको के हो?

सुठो भनेको पखालिएको, बोक्रा हटाईएको वा नहटाईएको र सुकाएको अदुवाको गानो हो। सुठोमा चिस्यान १० प्रतिशत भन्दा बढी हुनु हुँदैन र सुगन्धित तेल १.५ प्रतिशत भन्दा कम हुनु हुँदैन।
सुठो कसरी बनाईन्छ?

सर्वप्रथम हात/बोक्रा छोडाउने मेशिनको सहायताले अदुवाको बोक्रा खुर्केर पानीले सफा गर्नु पर्दछ।त्यसपछि २ प्रतिशत चुनपानी (२०० ग्राम घर पोत्ने चुन र १० लिटर पानी) को घोलमा बोक्रा खुर्किएका सफा अदुवाका टुक्राहरुलाई ६ घण्टासम्म डुबाउनु पर्दछ र पछि घाममा सुकाउनु पर्दछ।यसरी आकर्षक सुठो तयार गर्न सकिन्छ।
सुठोको भण्डारण कसरी गरिन्छ ?

सुठो तयार भएपछि २०-२५ के.जी. अट्ने सफा र यथाशक्य भित्री भाग पोलिथिन भएको बोरामा राख्नु पर्दछ। यस्तो सुठोलाई सफा तथा ओभानो काठको फ्ल्याक माथि ८ देखि १० महिनासम्म सुरक्षित राख्न सकिन्छ तर १-२ महिनाको अन्तरमा घाममा अनिवार्य सुकाउनु पर्दछ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏