जान्नुहाेस् लसुन खेती गर्ने तरिका

कृषि पोष्ट संवाददाता

लसुन (Allium Sativum L.) सँसार भरिमै गानो बालीमा प्याज पछि दोस्रो मुख्य बालीको रुपमा पर्दछ । कृषि मन्त्रालयको तथ्याँक अनुसार लसुनको खेती ६५६९ हेक्टरमा गरिएको र उत्पादन ४५०३५ टन र उत्पादकत्व ६.९० भएको देखिन्छ ।

लसुन विशेष गरी मसला बालीकै रुपमा प्रयोग गरिन्छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग हुन्छ । विदेशतिर यसको सुख्खा धुलो बनाएर प्रयोग गर्ने प्रचलन बढी रहेको छ । स्वादिष्ट परिकार मःमः को मुख्य मसला नै लसुन हो । पौष्टिकताको हकमा सबै गानो बाली मध्ये लसुन बढी पौष्टिक छ । यो कार्बोहाइड्रेट, प्रोटिन, फसफोरस, एसकरबिक एसिडको राम्रो स्रोत हो ।

लसुन एक औषधी बाली पनि हो । जैविक खेती प्रणालीमा खेतीको बीचबीचमा लसुन लगाउनाले कीराहरु भाग्दछन् भनिन्छ । लसुनका १–३ केस्रा खाली पेटमा पानीसँग खाँदा जोर्नीहरु दुख्ने रोगमा फाईदा पुग्दछ भन्ने रिपोर्ट छ र यसले रगतमा बढेको कोलेस्ट्रोल ट्राङग्लिसराइडलाई पनि समान्य गराउंदछ । ५० ग्राम जति तोरीको तेलमा ४/५ लसुनका केस्रा फुराएर/डढाएर एउटा भाँडोमा राखी आवश्यकता अनुसार ढाड, कम्मर वा अन्य देखेको भागमा प्रयोग गर्दा विशेष लाभ हुन्छ ।

तराईदेखि उच्च पहाडसम्म यो बाली खेती गर्न सकिन्छ तर भौगोलिक क्षेत्र अनुसार लसुनका खेती गरीने जातहरु फरक हुन्छन् । लसुन उत्पादन गर्दा जमिन तयारी खर्च न्यूनीकरण गर्न सकेमा उत्पादन लागतमा कटौती गरी प्रतिस्पर्धी रुपमा मूल्य निर्धारण गर्न मद्दत पुग्छ । धानबाली लगाएको स्थानमा धान काटीसकेपछि खनजोत नगरीकनै लसुन लगाउन सकिन्छ ।

खनजोत बिना लसुन खेती गर्ने प्रविधि पश्चिम तराईका नेपालका बर्दिया र कैलाली जिल्लाका स्थानीय थारु समुदायका कृषकहरुले अपनाउँदै आएका छन । यो प्रविधिको सुरुवात झण्डै १५ बर्ष अघिदेखि नै भएको र पछिल्ला केही बर्षहरुमा यो विस्तारित हुदै गएको देखिन्छ । कृषकहरुको अनुभवमा यस प्रविधिबाट ठूलो आकारको गानो र केस्रा भएको लसुन उत्पादन गर्न सकिन्छ ।

ठूलो आकारका चाईनिज लसुनले नेपाली बजारमा ग्राहकको मन जित्न सफल भएको देखिन्छ । ठूलो आकारका लसुनको बजार माग बढी रहेको र यसले मूल्य समेत अधिक पाउने गरेको छ । तसर्थ लसुनको बजार विस्तारका लागि प्रतिष्पर्धी मूल्यका अतिरिक्त यसको आकार र गुणस्तरमा पनि ध्यान दिनु पर्ने देखिन्छ । शुन्य खनजोत प्रविधिबाट लसुन खेती हाल पश्चिम तराई क्षेत्रमा हुने गरेकोमा सिँचाइ सुविधा भएका पूर्वी तराई तथा मध्य पहाडसम्म यो प्रविधिबाट लसुन खेती विस्तार गर्न सकिने प्रवल संभावना देखिन्छ ।

जातहरु:
मार्फा लोकल, पठाने लोकल, गोरामे चउर नेपालमा लोकप्रिय स्थानीय जातका लसुन हुन। त्यस्तै एग्री फाउण्ड सेतो, यमुना सेफद, जि-५०, जि-५१, जि-२८२, एग्री फाउण्ड पार्वती, पन्जाब लसुन केही आयातित लसुनका जात हुन।

हावापानी:
लसुन एक फराकिलो हावापानी अर्थात तराईदेखि उच्च हिमालसम्म खेती गर्न सकिने बाली हो । यसको लागि अत्यधिक गर्मी र अति चिसो दुवै हावापानी त्यति ठिक हुँदैन । धेरै लामो दिन र धेरै गर्मीमा लसुन रोपेमा लसुनका गानो बच्न सक्दैन । तर गानो बन्नका लागि लामो दिन र उच्च तापक्रम (विरुवा बढने भन्दा) चाहिन्छ ।

तापक्रम :
गानो बन्नका लागि २५–३० सें तापक्रम उपयुक्त हुन्छ । १०–१५ सें मा वनस्पितक वृद्धि हुन्छ भने तापक्रम २० सें भन्दा माथि लागेपछि गानोको विकास सुरु हुन्छ ।

प्रकाश अवधि :
गानोको सुरुवात, बृद्धि विकासका लागि प्रकाश अवधि १२ घण्टा वा भन्दा बढी हुनु आवश्यक छ ।

लसुन प्रसारण :
लसुन वानस्पितिक प्रसारण गरिने मसला बाली हो । फूल फुले पनि बीउ नलाग्ने भएकोले लसुनको केस्रा बाट नै प्रसारण गरिन्छ । हामी कहाँ स्वस्थ्य ठुला गाना बीउका लागि छुटयाउने चलन छैन यो राम्रो होइन । अतः रोग कम लाग्ने, स्वस्थ्य, ठुला, आकर्षक गानाको बोटमै छनौट गरी बीउका लागि भण्डारण गर्नु पर्दछ । गानाबाट बाहिर टाँसिएका केस्रा, साना केस्रा र भित्र पट्टिको लाम्चो केस्रा हटाई बाँकी राम्रा , ठुला केस्रा लगाउनुपर्छ । सानो केस्रा कम मलिलो नराम्रो माटोमा लगाउँदा केस्रा बिहिन गानो बन्छ । राउण्ड अर्को बर्ष लगाउन सकिन्छ । तर ख्याल गर्नु पर्नेै कहिले पनि उच्च पहाडबाट ल्याएको लसुन तराईमा लगाउनु हुँदैन । भोटे टाईपका लसुनको पनि तराईमा गानो लाग्दैन ।

माटो :
लसुनका लागि पानी नजम्ने खुकुलो दोमट माटो उत्तम हून्छ । कडा माटोमा गानो राम्ररी फस्टाउन सक्दैन । प्राराङगारिक पदार्थ प्रसस्त भएको ६–७ पि।एच भएको माटो राम्रो हुन्छ ।

मलखाद :
लसुनलाई प्राराङगारिक मल प्रसस्त चाहिने भएकोले ३० टन राम्ररी पाकेको गोठे वा कम्पोष्ट मल प्रति हेक्टर लसुन धानको जाँजमा रोपी सकेपछि प्रयोग गर्नु पर्दछ । मलको हकमा प्रति हेक्टर १२०ः८०ः८० केजी नाईट्रोजन, फसफोरस र पोटास सिफारिस गरिएको छ । जस अनुसार, ९.६ केजी युरिया, ८.७ केजी डिएपी र ६.७५ केजी, म्युरेट अफ पोटास प्रति रोपनी लसुन रोप्नु अगावै बाँझो जमिनमा प्रयोग गरिन्छ ।

बाली लगाउने समय :
तराई : असोज १५ देखि कार्तिक १५ सम्म
मध्य पहाड : कार्तिक महिना भर
लगाउने दुरी : १५ गुणा १५ सेमी
बीउ दर : ५००–६०० केजी प्रति हेक्टर (२५ देखि ३० केजी प्रति रोपनी)

सिँचाई र गोडमेल :

लसुन पानी जमेको र सुख्खा दुवै सहन सक्दैन । साधारण चिस्यान गानो तयार नहुन्जेल चाहिन्छ । गानो लाग्ने र बढने बेलामा चिस्यान कम भए उत्पादन घटछ । गानो लागि सकेपछि बढी चिस्यान भएमा केस्राहरु पलाई गानाको गुणस्तर घटछ ।

लसुन लगाएको ठाउँ झारपात मुक्त हुनु पर्छ । बिना खनजोत लगाइएकोले कुटो कोदालोले खन्न सम्भव नभएको छापो माथि आएका झारपातलाई हातैले उखेली हटाउनुपर्दछ । प्राय पहिलो गोडालाई लगाएको २५र३० दिनपछि दोस्रो गोडाई ५०र६० दिनपछि गरिन्छ ।त्यसपछि पनि आवश्यकता अनुसार झार निकालीरहनु पर्दछ ।

लसुन खन्ने र क्युरिङग :

लसुनको गानो तयार भएपछि लसुनको बोट पहेलिंई भुइमा ढल्न थाल्छन् । गानो राम्ररी तयार नहुँदै गानो खनेमा भण्डारणमा छिटटै कुहिन र गानोको गुणस्तर कम हुन जान्छ । यदी तयार भएको गानो समयमै नखने गानाहरु फुटने र केस्रा पुन पलाउन थाल्दछन् । लसुन खनेपछि खेतमै गानालाई बोटले छोपी सुकाई सम्पूर्ण बोट सुकेपछि छाया र हावामा राम्ररी सुकाई थन्काउनेले भण्डारण राम्रो हुन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏