विदेशबाट फर्किएर मल्चिङ प्रविधिबाट अकबरे खेती

कृषि पोष्ट संवाददाता

रोजगारीका लागि दुईपटक कतार र एकपटक मलेसिया गरी सात वर्ष विदेशमा बिताएका ओखलढुंगा, ज्यामिरेका ३० वर्षीय तेजनारायण श्रेष्ठले मासिक १ लाख ६० हजार रुपैयाँसम्मको अकबरे खुर्सानी बेचिरहेका छन् । उनले घर फर्केर यो खेती सुरु गरेका हुन् । उनले मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर मनग्ये आम्दानी गर्न थालेका हुन् । मल्चिङ प्रविधिबाट व्यावसायिक अकबरे खेती सुरु गर्ने उनी जिल्लाकै पहिलो कृषक हुन् ।

के हो मल्चिङ प्रविधि ?

माटोको ड्याङ बनाई मल्चिङ प्लास्टिकभित्र बेर्ना रोपेर गरिने यो खेती विकसित मुलुकमा सफल खेती प्रणाली मानिन्छ ।
खुला प्रविधिभन्दा यसले उत्पादन तेब्बर दिने र कम परिश्रम गर्नुपर्ने भएकाले सजिलो भएको तेजनारायणले बताए ।
मल्चिङ प्लास्टिकको कारणले फेदमा धेरै झार नउम्रिने, गोडमेल गर्नु नपर्ने भएकाले यो प्रविधि सजिलो भएको उनको भनाइ छ

कति उत्पादन दिन्छ ?

जम्मा ११ रोपनीमा १ हजार ३ सय बोट स्थानीय अकबरेको बेर्ना रोपेका थिए । त्यसमध्ये ९ रोपनी जतिमा १ हजार २ सय बोटले उत्पादन दिएको छ ।
पाकेर रातो भएको खुर्सानी मात्र उनले टिपेर बिक्री गर्ने गरेका छन्
सातामा २ सय किलोसम्म टिपेर बेच्न सकिन्छ
उनले खुर्सानी मात्र नभएर यो प्रविधिबाट रायो साग, बोडी, आलु, टमाटर, भेडे खुर्सानीमा समेत अभ्यास गरिसकेका छन् ।

कति लगानीबाट सुरु गरेको हो ?

उनले २ लाख रुपैयाँ लगानी गरेर सुरु गरेको यस खेतीबाट थालनी भएको तीन महिनामै लगानी उठाएका हुन् ।

कति समय दिनुपर्छ ?

उनलाई हाल बुवाआमा,भाइ र बहिनीले समेत सहयोग गरेका छन् ।
भाइ र उनी दैनिक ६ घण्टासम्म खेतीमा खटिने गर्छन् ।
वर्षामा आकाशे पानी संकलन गरी सिँचाइ गर्ने गरेका छन् । हिउँदमा पिउने पानी समेत अभाव हुने ज्यामिरेमा गाडीबाट ड्रममा पानी बोकेर समेत सिँचाइ गर्ने गर्छन् ।

यस प्रविधिकोलागि तालिम लिनुपर्छ ?

उनलाई कसैले यो प्रविधि सिकाएको होइन । इन्टरनेटको माध्यमबाट कोरिया, जापानमा मल्चिङ खेती हेरेर सुरु गरेका हुन् ।
सुरुमा गाउँले मात्र नभएर बुवाआमाले समेत उनलाई गाली गरेका थिए । तर उत्पादन दिन थालेपछि भने सबैले विश्वास गरे । एउटा खुर्सानीको बोटले दुई वर्षसम्म उत्पादन दिने भएकाले अन्य खेती यही प्रविधिबाट लगाउने तयारी उनको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏