जान्नुहोस् गाई पालन व्यवसाय गर्ने तरिका

कृषि पोष्ट संवाददाता

हामीले नेपालमा भनेजस्तो काम नै नपाइने, काम पाइहाले पनि राम्रो कमाई नहुने भन्ने कुरा धेरैको मुखबाट सुनेका छाैँ । त्यसैले नै होला भनेजस्तो काम र राम्रो दाम खोजीमा धेरै युवा विदेश गइरहेका छन्। तर मेहनत गर्ने र लगनशील भएर काम गर्ने हो भने विदेशमा जत्तिकै कमाई नेपालमा नै हुन्छ । विदेश गइसकेको भएपनि यदि सिकेको सीपलाई स्वदेशमा नै लागु गर्ने हो भने विदेशमा भन्दा सन्तुष्टि हुन्छ साथमा परिवारलाई समय दिन पनि पाइन्छ । यस्तै नेपालमा नै मनग्य अाम्दानी हुने व्यवसाय हो, गाई पालन । अझ अहिले गाई पालन व्यावसायिक रूपमा फष्टाउन थालेपछि युवाहरू पनि यो पेसामा आकर्षित हुन थालेका छन् । हामीले गाई पालन गर्न चाहने युवाहरूलाई सजिलो होस् भनेर यो लेख तयार पारेका हौँ।

कस्ता जातका गाईहरू नेपालमा पाइन्छ ?

नेपालमा पाइने गाईका प्रजातिहरू निम्न प्रकारका छन् ।

१. अछामी गाई

२. तराई गाई

३. पहाडी गाई

४. याक, नाक र चौँरी

५. लुलु

६. होलिस्टेन फ्रिजन

७. ब्रोन स्विस

८. शाही वाल

९. जर्सी

यी मध्येमा जर्सी, होलिस्टेन, ब्रोन स्विस र शाही वाल प्रजातिका गाईहरू गाई पालनका लागि उपर्युक्त हुन्छन् । यिनीहरू उन्नत जातका गाईहरू हुन्।

गाई फार्मका लागि गोठ बनाउँदा कस्तो ठाउँमा बनाउने ? के कुरामा ध्यान दिने?

गोठ बनाउँदा ओभानो र तुलनात्मक रूपले वरपरभन्दा केही अग्लो र सुरक्षित ठाँउमा बनाउनुपर्छ। त्यसमा यातायात, बिजुली, पानी प्राविधिक सेवा-सुविधा, औषधि, दाना, आदि उपलब्ध भएको नभएको निश्चित गर्नुपर्छ। साथै गाईलाई बेलाबेला बाहिर लैजानुपर्ने भएकाले घाँस चर्न वा लगाउन सकिने ठाउँमा पाल्नुपर्छ। साथै मलमूत्र सजिलै बाहिर लैजान नजिक हुने ठाउँ हुनुपर्छ । पशुको उचाइ, मोटाइ, प्रजाती, तौल आदि किसिमका आधारमा गोठ बनाउनुपर्छ ।

गोठका आधारभूत विशेषताहरू

बस्ने ठाउँ जमिनबाट ५० से.मी. माथि उठेको र चौडाई ७ मी तथा लम्बाइ आवश्यकता अनुसारको बनाउनुपर्छ ।
बस्ने ठाउँ अगाडिदेखि पछाडिसम्म १ः१०० को अनुपातमा भिरालो हुुनुपर्छ ।
बस्ने ठाउँ ओभानो र खाल्टाखुल्टी नभएको हुनुपर्छ ।
बस्ने ठाउँमा घाम वा प्रकाश छिर्ने बनाउनुपर्छ ।
घाँसपात दिने डुँडको व्यवस्था हुनुपर्छ ।
गोठ बनाउँदा मूत्र बगेर जाने नालीको व्यवस्था गर्नुपर्छ ।
चिसो ठाउँमा ताजा हावा खेल्ने झ्याल तथा अन्यमा बिना पर्खालको बनाउन सकिन्छ ।
गोबर (मल) थुपार्ने ठाउँ पशु बस्ने ठाँउभन्दा १० मिटर जति टाढा हुनुपर्छ ।
गाईपालन गर्न के कति खर्च लाग्छ?

गाई पालनलाई व्यावसायिक रूपमा लैजान नेपाल सरकारले निश्चित संख्या निर्धारण गरेको छ । पहाडमा फर्मका रूपमा मान्यता पाउन कम्तीमा पाँचवटा गाई पाल्नुपर्छ भने तराईमा १० वटा अनिवार्य रूपमा पाल्नुपर्छ । नेपालमा मुख्यतया पालिने होलिस्टेन गाईलाई १ लाखदेखि १ लाख २० रुपैयाँसम्म पर्छ । त्यसैगरी, एउटा जर्सी गाईलाई ८० हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ । होलिस्टेन र जर्सी गाईबाट क्रस गराएको गाईलाई भने १ लाख रुपैयाँभन्दा महँगो पर्छ । त्यसैले तपाईँले कुन प्रजातिको कति वटा गाई पाल्नुहुन्छ, त्यो अाधारमा तपाईँको खर्च लाग्छ ।

गाईको लागि आहार कसरी बनाउने?

गाईको दाना वा आहारले प्रत्यक्ष रूपमा यसको स्वास्थ्य र यसले उत्पादन गर्ने दूधमा पर्न जान्छ । यो कारणले पनि गाईलाई खुवाउने दाना सन्तुलित र पोषणयुक्त हुन जरुरी छ ।

कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज तथा पानी जस्ता पौष्टिक तत्वयुक्त सन्तुलित मात्रामा दिने
प्रतिकेजि दानामा २६०० किलोक्यालोरी शक्ति तथा १४ देखि १६ प्रतिशत प्रोटिन तत्त्व खुवाउने
दाना, पराल, नल, मकैको ढोड भन्दा हरियो घाँस खुवाउने
गाईलाई कस्ता रोगहरू लाग्न सक्छ? यसबाट बच्न के गर्ने?

खोरेत, भ्यागुते, चरचरे, पटके, थुनीलो, मिल्क फिबर जस्ता रोगहरू गाईलाई लाग्न सक्छ। बाँझोपन, साल अड्कने, भण्डार फर्कने, बाच्छाबाच्छी अड्कने, गर्भ तुहिने जस्ता समस्याहरूले पनि सताउन सक्छ । यस्ता समस्याबाट बच्न वर्षमा एक पटक रोगविरुद्ध लड्ने भ्याक्सिनको प्रयोग गर्न कृषि विज्ञहरूको सुझाव दिने गरेको पाइन्छ । यसो गर्दा पनि समस्या अाएमा तुरुन्तै चिकित्सकको सल्लाह लिने र चिकित्सकको निर्देशन अनुसार काम गर्नुपर्छ ।

नेपालमा नै मध्यम लगानीमा मनग्य अाम्दानीका लागि गाई पालन व्यवसायको बारेमा राम्ररी जान्नुहोस् र व्यवसाय गरेर लाभ उठाउनुहोस् ।

गाई पालन बारे थप जान्नका लागि यो लिंक (https://bit.ly/2qoVgb7 ) मा जानुहोस् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏