टिमुर खेती गर्ने तरिका , के हाे टिमुर?यसबाट कति कमाउन सकिन्छ ?

कृषि पोष्ट संवाददाता

वैज्ञानिक नाम :

ज्यान्थोजाइलम नरमाटम ,वानस्पतिक परिवार: रुटेसी ,नेपाली नाम : टिमुर, बोकेटिमुर, संस्कृत नाम : तीक्ष्णफल, तेजोवती, तेजस्विनी, तुम्बरु
अन्य नाम प्रुमो(गुरुङ), हुवा चिआवो (चिनियाँ, प्रुमो (तामाङ), तिमुर (थारु), टेमू (नेवारी),
खचकन (राई, वारेक्पा (लिम्बु, यर्मा (शेर्पा, तेजवल (हिन्दी)
यो २–३ मिटर अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको, पतझड वनस्पति हो । संयुक्त पात एकान्तर, ४–८, से.मी. लामो, स–साना ३–१३ वटा पत्रकहरू भएको हुन्छ । पत्रकहरूविपरीत, भेट्नु नभएको, अण्डाकार, किनारा महिसो करौती जस्तो वा सीधा, टुप्पा तिखो, माथिल्लो सतह गाढा हरियो र तल्लो सतह फिका हरियो रङ्गको र ग्रन्थियुक्त हुन्छ । काण्डमा र पातको फेदमा थेप्चा काँडाहरू हुन्छन् । पात पलाउने हरेक आँख्लाबाट फूलको छुट्टै हाँगा निस्किएको हुन्छ । फूलहरू हरिया रकेही पहेंला, स–साना हुन्छन् । भाले र पोथी फूल फरक फरक बिरुवामा हुन्छन् । फूलमा पत्रदल हुँदैन, पुष्पदल ६–८, खण्ड भएको, पुंकेशर ६–८ वटा (भाले फूलमा) र स्त्रीकेशर १–३ वटा (पोथी फूलमा) हुन्छ । फल तीतो, पिरो र जिब्रो पर्पराउने स्वादको र सुगन्धित हुन्छ । फल ४–५ मि.मि. व्यासको, गोलो काँचोमा रातो र पाकेपछि कालो रङ्गको हुन्छ । यसको फूल जेठ–असारमा फुल्दछ र फल साउन–भदौतिर लाग्दछ र असोज–कार्तिकतिर पाक्दछ ।

उपयोगी भाग :
यसको फल जसलाई टिमुर भनिन्छ र बोक्रा प्रयोग हुन्छ ।
प्राकृतिक वासस्थान तथा उद्गम:
यो प्राकृतिक अवस्थामा ११००–२५०० मिटरसम्मको उचाइमा पूर्व, मध्य र पश्चिम नेपालमा पाइन्छ ।
साथै हिमालय क्षेत्र (कश्मीरदेखि भुटानसम्म), उत्तरी भारत, चीन, ताइवान, फिलिपिन्स लगायतका देशमापाइन्छ ।
खेती तथा प्रसारण:
टिमुरको व्यावसायिक खेती शुरु नभए तापनि हाल आएर केही ठाउँहरूमा यसलाई व्यावसायिक
रूपमा लगाउन थालिएको छ । टिमुरको प्रसारण दुई किसिमले गर्न सकिन्छ ।
१) बीउबाट २) डाँठको कटिङबाट
१) बीउबाट
टिमुरको लागि बीउबाट प्रसारण गर्नुभन्दा कटिङबाट प्रसारण गर्नु राम्रो हुन्छ । बीउको उमार क्षमता
ज्यादै कम (१०–१५ प्रतिशत) हुन्छ । असोज–कार्तिकतिर पाकेका फललाई लठ्ठीले हानेर वा हातले टिपेरघाममा सुकाई भण्डारण गर्नु पर्दछ । त्यसरी संकलन गरेको बीउलाई फागुन–चैत्रतिर, खनजोत गरी तयारीपारिएको नर्सरी व्याडमा छरेर बिरुवा उमारिन्छ । एकहेक्टर जग्गाको लागि ५०० ग्राम बीउ आवश्यकहुन्छ ।

नर्सरी विधि:
नर्सरीका लागि उपयुक्त ठाउँ छनौट गरी जग्गा तयार गरिन्छ । ब्याडहरू पूर्व पश्चिम लम्बाइ भएको
वनाउन सकेमा छहारीको प्रयोग बढी प्रभावकारी हुन्छ । ब्याडको उचाइ सामान्यतया १५ से.मि. र चौडाइ१ मिटर र लम्बाइ जति पनि राख्न सकिन्छ । त्यसैले बीउ रोप्नुअघि बीउलाई तातो पानीमा २४ घण्टासम्मडुबाई राखेर रोप्दा राम्रो हुन्छ । बीउ रोप्दा १० से.मिको फरकमा लाइन मिलाएर रोप्नु पर्दछ । बीउलाईब्याडमा रोपिसकेपछि धूलो माटोले हलुकासँग छोपिदिनु पर्दछ । त्यसपछि व्याडलाई छ्वाली वा पराललेपातलो गरी छोपिदिनु पर्दछ । व्याडमा बेर्ना उम्रिन थालेपछि छ्वाली वा पराललाई हटाई दिनु पर्दछ ।र अर्को ६० से.मी. जति अग्लो छाप्रोको छहारी दिनु पर्दछ । प्लास्टिकका थैलाहरूमा पनि बिरुवा उमार्नसकिन्छ । सामान्यतया एक वर्ष भएको बिरुवा रोप्नको लागि राम्रो मानिन्छ तर पनि बिरुवा १५ से.मिजति अग्लो भएपछि तयारी जग्गामा रोप्न सकिन्छ ।

२) डा“ठको कटिङबाट:
माघ–फागुनतिर कटिङ राखिन्छ । कटिङ राख्नको लागि २–३ से.मि. व्यास भएको र तीनवटा आँख्ला
भएको काण्ड (डाँठ) राम्रो मानिन्छ । छिप्पिएको डाँठलाई १५ से.मि. लामो काटी नर्सरीमा तयार पारिएकोप्लास्टिकको थैलोमा वा ब्याडमा तर्सो पारेर रोपिन्छ । कटिङ राख्दा डाँठलाई रुट हर्मोन
को झोल (२–३ प्रतिशत) मा चाबेर रोप्दा राम्रोसँग सर्दछ । यसरी तयार पारिएको बिरुवा ३–४ महिनामा
रोप्नको लागि तयार हुन्छ ।

बिरुवा रोपण:
बिरुवा रोप्ने कार्य मनसुन शुरु भएपछि अर्थात् साउन–भदौमा गर्नु पर्दछ । बोट ठूलो हुने भएकोले,
करीब १.५–३ मिटरको दूरीमा ठाउँ अनुसार लाइन मिलाएर ३० से.मि. को गहिरो खाल्डो खनी त्यसमा
गोबरमल हाली रोपिन्छ । एक हेक्टर जमिनमा करिब १००० बिरुवा लगाउन सकिन्छ । रोपिएकबिरुवाकोवरिपरि पानी जम्न दिनु हुँदैन । बिरुवा रोपिसकेपछि वर्षको दुई–तीनपटक गोडमेल गरी गाईवस्तुको मल बिरुवाको वरिपरि राख्नु पर्दछ । बिरुवा रोपेको तीन वर्षपछि टिमुर फल्न शुरु गर्दछ । बीउबाट रोपेकोभन्दा कटिङबाट रोपेको बिरुवामा चाँडो फल लाग्दछ ।

हावापानी र माटो:
यो प्राकृतिक रूपमा महाभारत पर्वत शृङ्खलाको खुला पाखामा पाइन्छ । यसको खेतीको लागि
हिउँदमा ठण्डा र गर्मीमा न्योनो हुने उपोष्ण र शीतोष्ण हावापानी भएको क्षेत्र उत्तम हुन्छ । अन्य बालीकोलागि उपयुक्त नहुने भीर पाखा तथा बलौटे एवं पत्थरिलो माटोमा यसलाई लगाउन सकिन्छ । माटोकोअम्लियपन (पि.एच) ६.५–७.० सम्म भएको बलौटे माटो सबैभन्दा उपयुक्त हुन्छ ।

संकलन तथा भण्डारण:
यसको फल पाकेर रातो भएपछि र परिपक्व भएपछि झर्नु अगावै असोज–कार्तिक महिनाको मध्यतिर
संकलन गरिन्छ । फललाई हातले टिपेर वा लठ्ठीले हानेर झारी संकलन गरिन्छ । संकलन गरिएका
फलहरूलाई पात काँडाहरू हटाई राम्ररी सुकाई बोरामा कसेर ओभानो ठाउँमा भण्डारण गरेर राख्नु पर्दछ ।यसको फलबाट स्टिम डिस्टिलेसन विधिद्वारा सुगन्धित तेल निकालिन्छ ।

बजार तथा उत्पादन:
यसको बजार राम्रो छ । यसको बजार मूल्य प्रतिके.जी. रु. २००–३०० पर्दछ । एउटा परिपक्व
बोटमा सरदर २–४ के.जी. टिमुर फल्दछ । एक जनाले एक दिनमा सामान्यतया ४ के.जी. टिमुर टिप्न
सक्दछ । नेपालमा वार्षिक सरदर १२०० के.जी. टिमुरको तेल उत्पादन हुने अनुमान गरिएको छ । एक
हेक्टर जग्गामा २०००–४००० के.जी. टिमुर फल्दछ ।
नीतिगत व्यवस्था:
प्राकृतिक अवस्थाबाट संकलिन टिमुर फलको प्रति के.जी. रु. ३ राजस्व बुझाउनु पर्दछ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏