कुखुरा पालन व्यवसाय कसरी संचालन गर्ने ?

कृषि पोष्ट संवाददाता

खोर कस्तो, कहाँ र कसरी बनाउने ?

जमिनभन्दा अलिकति माथि पूर्व अथवा पश्चिम फर्केको खोर बनाउने
साना चल्ला हुर्काउने खोर ठूला कुखुरा र फुल पार्न आँटेका कुखुराको खोरभन्दा ३०० फीट टाढा बनाउने
खोरहरूको बीचमा कम्तीमा ३० फीट खाली भाग हुनुपर्छ
खोरको चौडाइ ३२ फीट, खोरको मध्यभागको उचाइ १२–१४ फीट हुनुपर्छ
चिसो ठाउँमा ६–८ फीटको पर्खाल तथा गर्मी ठाउँमा ८–१० फीटको पर्खाल हुनुपर्छ
पर्खालको तलको तीन चौथाइ भाग इँटाको पक्की र माथिको एक चौथाइ भागमा जाली लगाउनुपर्छ
खोरको छानामा खर, पराल, छ्वाली वा जस्तापाता आदि प्रयोग गर्नुपर्छ
खोर वरिपरि रुख बिरुवा रोप्दा राम्रो हुन्छ
चल्ला कसरी हुर्काउने ?

चल्ला किन्दा लुलालङ्गडा, ख्याउटे, झोक्राएका चल्ला किन्नु हुँदैन
ब्रोइलर कुखुराका लागि खोरको ओस सोस्ने र कुखुरालाई आराम दिने खालको कम्तीमा २ इञ्च बाक्लो सोत्तर हाल्ने (जस्तै काठको धूलो, धानको भूस, बदामको बोक्रा, छिमलेको घाँसका टुक्रा आदि)
सोत्तरलाई पाँच पत्र न्यूज प्रिण्ट पेपर (पत्रपत्रिकाका कागज)ले छोप्ने
खोरमा चल्ला भित्र्याउनुभन्दा २४ घण्टा अगाडि ब्रुडरको बत्ती/हिटर बाली खोरको तापक्रम ९० देखि९५ डिग्री फरेनहाइट राख्नुपर्छ। तर चल्ला ठूलो भएपछि ५० डिग्री फरेनहाइटसम्म घटाउन मिल्छ
ब्रुडरको चारैतिर प्रति २५० चल्लाका लागि ६ ओटा पानीको भाँडा राखि त्यो पानीमा भिटामिन ए, सी, इलेक्ट्रोलाइट र सहजैविक चिजहरु मिसाएर राख्नुपर्छ
हावाहुरीको समस्या भए झ्यालढोकामा बार्नुपर्छ तर खोरको माथिल्लो तहको हावा बाहिर जाने ठाउँ भने खुला राख्नुपर्छ
कस्तो दाना दिने?

दाना किन्दा भरपर्दो, विश्वसनीय तथा प्राविधिक सल्लाह र क्षतिपूर्ति पनि दिने दाना उद्योगसंग किन्ने
ब्रोइलर कुखुरालाई पहिलो चार हप्ता स्ट्राटर दाना दिने र बिक्री गर्ने बेलासम्म फिनिसर दाना दिने
नियमित अवधि, उमेर र स्वास्थ्य स्थितिअनुसार सधैँ दाना दिने
चल्ला/कुखुरा बिरामी भए के गर्ने ?

कुखुरा/चल्लालाई रानीखेत, गम्बोरो, लिचीजस्ता रोग लाग्नसक्छ, कुखुराको उमेरअनुसार मिल्ने गरी खोप लगाउने
१०० वटा कुखुरामध्ये एउटा मात्र बिरामी भए पनि तुरुन्त विज्ञसँग सल्लाह गरी रोगको उचित उपचार गर्ने
यस्तो रोगको उपचारमा दाना डिलर, नजिकको एग्रोभेट वा घुमन्ते चिकित्सकको भर नपर्ने
खोर वरिपरि नियमित चूनपानी छर्ने
खोरमा जथाभावी भुस्याहा जनावर, काठेहाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी आउन नदिने
खोरमा मरेका कुखुरालाई पर लगेर सुरक्षित रूपमा गाड्ने
एक चरणका कुखुरा भरसक एकैपटक बिक्री गर्ने

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏