वैदेशिक रोजगारीको विकल्पमा कृषि

कृषि पोष्ट संवाददाता

गोपाल संग्रौला

प्रधानमन्त्री कृषि योजनामा समेत वैदेशिक रोजगारबाट फर्किएका युवालक्षित विशेष कृषि प्रोत्साहन कार्यक्रम सञ्चालन हुन सकेमा यस्ता जनशक्तिलाई स्वदेशमा नै टिकाई कृषि क्षेत्रमा आवद्ध गर्न सहयोग पुग्न सक्ने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐनले वैदेशिक रोजगारबाट फर्केका नेपालीहरूको स्थानीय तहमा सीप र ज्ञानको उपयोग गर्न स्थानीय तहका सरकारको कार्य जिम्मेवारीमा राखेको छ ।

पुर्खाले अंगालेको कृषि पेशालाई लत्याएर रोजगारीका लागि गएका युवा विदेशबाट फर्किएपछि कृषिलाई पेशा र व्यवसाय बनाउने क्रम बढेको छ । वैदेशिक रोजगारीबाट फर्केका अधिकांश युवा अन्य पेशाको तुलनामा कृषि पेशा तथा व्यवसायमा धेरै आकर्षित हुन थालेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) र फुड एन्ड एग्रिकल्चर अगनाइजेशन (एफएओ) ले केही वर्षअघि गरेको अध्ययनले वैदेशिक रोजगारबाट फर्किएका युवाहरू उन्नत पशुपालन, दुग्ध व्यवसाय, माछापालन, कुखुरापालन र आधुनिक कृषि क्षेत्रमा आकर्षित हुने गरेको देखाएको छ । यी दुई संस्थाले गरेको अध्ययनले वैदेशिक रोजगारीबाट फर्कने अधिकांश युवाले कृषि क्षेत्रमा लगानी गरेको देखाएकोे छ ।
तर, कृषिको कुन क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ भन्ने जानकारी नहुँदा कृषिको अनुत्पादनशील क्षेत्रमा संलग्न भएका व्यक्तिहरू पुनः वैदेशिक रोजगारमा फर्किएको देखाएको छ । सो अध्ययनले वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई धान, मकै, गहुँ, जौजस्ता खाद्य उत्पादन भन्दा उच्च मूल्य दिने क्षेत्रहरू जस्तो– तरकारी, फलफूल, जडिबुटी, चिया, आलुजस्ता क्षेत्रमा लगानी गरी विपे्रषणको उपयोग गरेको देखिन्छ ।

वैदेशिक रोजगारको विकल्प कृषि

वैदेशिक रोजगार सुधार सुझाव कार्यदलका संयोजक पूर्णचन्द्र भट्टराई सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त गर्दै मुलुकभित्र रोजगारको सृजना गर्ने नीति अवलम्बन गरेको बेला वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिने बताउँछन् ।
“नेपालमा रोजगारको अवसर मुख्यगरी सेवा, उद्योग र कृषि भए पनि वैदेशिक रोजगारमा जाने अधिकांश नेपालीहरूको पृष्ठभूमि कृषिसँग जोडिएको र अधिकांश अदक्ष कामदारको रुपमा रहेको सन्दर्भमा स्वदेश फिर्तापश्चात् उनीहरूका निमित्त पुनः एकीकरणका निमित्त कृषि क्षेत्र नै पहिलो हुने गरी व्यवस्थापन गर्नुपर्छ,” उनले भने, “कृषि क्षेत्रमा आधारभूत पूर्वाधारको उपलब्धता र सुविधामा वृद्धि, व्यवसायीकरण र वैज्ञानिक प्रणालीको अवलम्बनले कृषिजन्य आयातलाई विस्थापन गरी उच्च मूल्य कृषि उत्पादनका निर्यात समेत हुन सक्ने छ ।”
वैदेशिक रोजगारमा रही कृषि क्षेत्रमा अनुभव हासिल गरेका नेपाली कामदारहरूले मुलुकको कृषि क्षेत्रको परिवर्तनमा सहयोग गर्न सक्ने देखिएको छ । नेपाली युवाहरू जति वैदेशिक रोजगारीमा संलग्नता देखिएको छ, त्यसअनुसार मुलुकले सो अनुसार फाइदा लिन सकेको देखिँदैन । उनीहरूबाट प्राप्त पुँजी, ज्ञान र सीपको उचित उपयोग हुन नसक्दा कृषि क्षेत्रमा अनुभव लिएर स्वदेश आएका युवालाई सरकारले आकर्षण गर्न सकेको छैन । यही अवस्थालाई मध्यनजर गरेर सरकारले आर्थिक वर्ष २०७५-०७६ को बजेट तथा कार्यक्रममार्फत् देशभित्रै व्यापक रोजगारीका अवसरहरूको सृजना गरी ५ वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्ने नीति अवलम्बन गरेको छ ।
यसैबमोजिम आर्थिक बर्ष ०७५-७६ को बजेटमा स्वदेशमा रोजगारीका पर्याप्त अवसर तथा छनौट उपलव्ध नभएसम्म अल्पकालिन रणनीतिको रुपमा वैदेशिक रोजगारको अवसरको उपयोग गरिने उल्लेख गर्दै वैदेशिक रोजगारको चापको दीगो व्यवस्थापनका निमित्त कृषि क्षेत्रसँग आवद्ध गर्ने गरी केही महत्वपूर्ण कार्यहरूको घोषणा गरिएको छ । बजेटले मुलुकभित्र थप रोजगारी सृजना गरी क्रमशः नेपालीहरूलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्ने घोषणा गरेको छ ।

उक्त कार्यक्रमबाट व्यावसायिक कृषि, सिँचाई, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार र तीनै तहका सरकारहरूका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई यस कार्यक्रमहरूसँग आवद्ध गरिने कार्यक्रम रहेको छ । उच्च शिक्षा हासिल गरेका युवाहरूलाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितोमा पाँच प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण उपलब्ध गराउने व्यवस्था समेत आरम्भ भएको छ ।
सरकारले यस्तो कर्जाको अनिवार्य सुरक्षा हुने तथा व्यवसायको बिमा गर्ने व्यवस्थासमेत गरिरहेको छ । विदेशबाट फर्केका युवाहरूको सीप प्रमाणीकरण गरी त्यस्ता युवाहरूलाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाख रुपैयाँसम्मको ऋणको प्रावधान ल्याइएको छ । यसैगरी विप्रेषण आय बैकिङ प्रणालीबाट भित्र्याई त्यस्तो रकम उत्पादनमूलक लघु तथा साना उद्योग, पर्यटन, कृषि व्यवसाय र रोजगारमूलक सेवा क्षेत्रमा लगानी गर्न प्रोत्साहनको व्यवस्थासमेत सरकारले गरेको छ ।

वैदेशिक रोजगारमा जान नचाहेका वा वैदेशिक रोजगारबाट फर्किएका कतिपय युवा उन्नत तथा व्यावसायिक कृषिमा आकर्षित हुन थालेका छन् । जग्गा भाडामा लिएर व्यावसायिक कृषिका गतिविधिहरू क्रमशः विस्तार हुन थालेका छन् । धेरै मानिसहरू साहुको चर्काे ब्याज वा जग्गा जमिन बेचेर वैदेशिक रोजगारमा गए पनि राम्रो कमाइ गर्न नसकेका कारण पछुतो मानेर फर्कने र आफ्नै पेशामा संलग्न हुने गरेको पनि पाइन्छ ।
सिँचाइ, सडक तथा कृषि बजार जस्ता आधारभूत पूर्वाधारहरूको विकाससँगै मानिसहरूमा कृषिलाई व्यावसायिक बनाएर यस क्षेत्रमा आवद्ध हुने क्रम बढ्दो छ । नेपालको अर्थतन्त्रको संरचनागत अवस्थालाई विश्लेषण गर्दा तत्काललाई वैदेशिक रोजगारीमा जाने प्रवृत्तिमा कमी आउने सम्भावना न्यून रहेको देखिएको छ । विश्वव्यापीकरणका कारण मानिसहरू जुन देशमा बढी अवसर प्राप्त गर्दछन्, सोही देशमा काम गर्न इच्छुक रहने गर्दछन् ।
प्रधानमन्त्री कृषि योजनामा समेत वैदेशिक रोजगारबाट फर्किएका युवालक्षित विशेष कृषि प्रोत्साहन कार्यक्रम सञ्चालन हुन सकेमा यस्ता जनशक्तिलाई स्वदेशमा नै टिकाई कृषि क्षेत्रमा आवद्ध गर्न सहयोग पुग्न सक्ने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐनले वैदेशिक रोजगारबाट फर्केका नेपालीहरूको स्थानीय तहमा सीप र ज्ञानको उपयोग गर्न स्थानीय तहका सरकारको कार्य जिम्मेवारीमा राखेको छ ।
आफ्ना नगर वा गाउँमा वैदेशिक रोजगारबाट फर्किएकाहरूको सीप र ज्ञानका आधारमा स्थानीयस्तरमा नै कृषि कार्य र कृषिमा आधारित उद्यम व्यवसाय सञ्चालन गर्न समेत स्थानीय तहले प्रोत्साहन, सुविधा तथा सहयोग पु-याउन सक्दछ । विदेशमा कृषि पेशामा संलग्न भई स्वदेश फर्किएका नेपाली कामदारले कृषि कार्यका निमित्त उपकरण तथा सामग्री ल्याउन चाहेमा सरकारले आयातमा विशेष सहुलियत दिन सक्दछ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏