वैदेशिक रोजगारी छाडेर प्राङ्गारिक तरकारी खेतीमा

कृषि पोष्ट संवाददाता

मोहन पौडेल

पछिल्लो समय तरकारी खेतीतर्फ युवाको आकर्षण बढ्दो छ । व्यावसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो ।
नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१३ स्थित धनेवाका एक युवकले वैदेशिक रोजगारी छाडेर गाउँमै अर्गाानिक तरकारी खेती गर्नुभएको छ । छोटो समयमै उहाँले राम्रो आम्दानी गर्नुभएको छ । रासायनिक विषादीको प्रयोग गरिएका तरकारीले स्वास्थ्यमा प्रतिकूल असर परेकाले विदेशबाट फर्केर ३८ वर्षीय कृषक बाबुराम केसीले व्यावसायिक जैविक खेती थाल्नुभएको हो ।

चार महीनाअघि शुरु गरिएको व्यावसायिक तरकारीखेतीबाट आम्दानी लिन थालिसकेको उहाँले बताउनुभयो । “डेढ महीनादेखि तरकारी टिप्न शुरु गरेको थिएँ , अहिलेसम्म २७ क्विन्टल तरकारी बिक्री गरिसकेँ, बन्दाबन्दी छिट्टै सामान्य अवस्थामा फर्के यस मौसममा लगानीसम्म उठाउन सक्छु भन्ने विश्वास छ”, उहाँले भन्नुभयो । केसीकोे खेतमा अहिले लौका, फर्सी, घिरौँला, करेला, काँक्रा, गोलभेँडालगायत लटरम्म फलेका छन् । रु छ लाख २५ हजारको लगानीमा १२ कठ्ठाभन्दा बढी जग्गामा जैविक विषादीयुक्त तरकारी खेती गरिएको उहाँले बताउनुभयो । छोटो समयमै रु तीन लाखभन्दा बढीको तरकारी बिक्री गरिसकिएको बताउँदै उहाँले छिट्टै सामान्य अवस्था फर्किए रु पाँचछ लाखसम्मको बिक्री गर्ने लक्ष्य रहेको जानकारी दिनभयो ।
वैदेशिक रोजगारीबाट फर्किएर तरकारी खेती शुरु गर्नुभएका केसी यस व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । “सिङ्गापुर, कतार, कुवेत र इराकमा मैले साढे आठ वर्ष बिताएँ, मेरो वायरिङ्ग र प्लम्बिङ्गको पसल पनि छ तर तरकारी खेतीबाट म सन्तुष्ट छु, हरियो तरकारीबाली देख्दा आनन्द महसुस हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले बकैनो, नीम, असुरो, खुर्सानी, आँप र धतुराको मिश्रणबाट घरमै बनाइएको जैविक विषादीको प्रयोग गर्दै आउनुभएको छ । सिङ्गापुरमा रहँदा त्यहाँको एक नेपाली बस्तीमा गरिएको तरकारीखेतीबाट उहाँ प्रभावित हुनुभएको थियो । नेपाल फर्केर तरकारी खेती नै गर्ने उद्देश्य बोकेर आउनुभएका केसी नेपाल एग्रोको सल्लाहमा यो व्यवसाय शुुरु गरेर छोटो समयमै उदाहरणीय कृषक बनिसक्नुभएको छ । अर्गानिक तरकारी पाइन थालेपछि ठूला व्यापारीदेखि उपभोक्तासम्मले उहाँकै खेतमा पुगेर खरीद गर्ने गरेका छन् ।

मल्चिङ्ग र थोपा सिँचाइको प्रयोग गरिएकाले उत्पादन पनि राम्रो भएको उहाँ बताउनुहुन्छ । “अर्गानिक तरकारीको माग बुटवल, काठमाडौँलगायत शहरमा धेरै छ तर बन्दाबन्दीका कारण त्यहाँसम्म पु¥याउन नसक्दा यहाँ सस्तो मूल्यमा नै बिक्री गर्नुपरेको छ”, उहाँले भन्नुभयो ।
माग बढ्दै गएपछि जिल्लाका केही व्यापारीले रासायनिक विषादीको तरकारीलाई पनि धनेवाको अर्गानिक तरकारी भन्दै झुटो प्रचार गरी बिक्री गरिरहेको उहाँले गुनासो गर्नुभयो । अधिकांश कृषकले छिटो र पर्याप्त मात्रामा आम्दानी लिने चाहनामा तरकारी बालीमा विषादीको प्रयोग बढाउँदा त्यसले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै उहाँ धेरै आम्दानीभन्दा पनि शुद्ध तरकारी उपलब्ध गराउन पाउँदा खुशी मिलेको बताउनुहुन्छ ।
बर्दघाट–२ चिसापानीका चन्द्रबहादुर बुढाले पनि एक वर्षदेखि अर्गानिक तरकारी खेती शुरु गर्नुभएको छ । दश कट्ठामा गरिएको तरकारी खेतीबाट वर्षमा तीन पटकसम्म उहाँले आम्दानी लिने गर्नुभएको छ । “एक सिजनमा दुई लाखसम्म आम्दानी हुन्छ, वर्षमा तीन सिजन तरकारी बिक्री गरिन्छ”, उहाँले भन्नुभयो । अहिले उहाँको खेतमा बोडी, करेला, काँक्रा, गोलभेँडा, लौकालगायत तरकारी फलेको छ । समाजसेवामा सक्रिय बुढा अहिले प्युठाने कृषि फर्म दर्ता गरेर व्यावसायिक रुपमै तरकारी खेतीमा लाग्नुभएको छ ।

लामो समय विषादीयुक्त तरकारीखेती गर्दै आउनुभएका सुनवलका नरबहादुर खड्काले पनि अहिले अर्गानिक तरकारी खेती गर्नुभएको छ । विगतमा कृषक मात्र हुँदा थाहा नभएर विषादीयुक्त तरकारी खेती गर्दै आएको तर प्रशिक्षक भएर गाउँगाउँमा आफैँले तालीम दिन थालेपछि भने तीन वर्षदेखि अर्गानिक तरकारी खेती शुरु गरिएको उहाँ बताउनुहुन्छ ।

खड्काले सबै प्रकृतिका तरकारी खेतीका साथै बिरुवा बिक्री गर्दै आउनुभएको छ । “पहिला अर्गानिकको खासै माग थिएन, उपभोक्ताले त्यत्ति बुझेका पनि थिएनन्, म आफँै प्रशिक्षक भएपछि रासायनिक विषादीको प्रयोग बन्द गरेर वनस्पतिका पातहरु मिसाएको जैविक विषादीको प्रयोग गर्दै आएको छु, मेरो खेतबाटै तरकारी बिक्री हुन्छ”, उहाँले भन्नुभयो । गत वर्ष उहाँले भिन्डी मात्रै रु दुई लाखको बिक्री गरिएको बताउनुभयो ।
उपभोक्ताले पनि सस्तोको लोभले विषादीयुक्त तरकारी खोज्दा बजारमा प्रतिस्पर्धा गर्न समस्या रहेको अर्गानिक तरकारी खेती गर्दै आएका कृषकको गुनासो छ । जैविक विषादीको प्रयोग हुने भएकाले स्वास्थ्यलाई ख्याल गर्दै अर्गानिक तरकारीकै प्रयोग गर्न कृषकले उपभोक्तालाई आग्रह गरेका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏