माहुरीको विश्व अर्थतन्त्रमा हिसाब गर्ने हो भने बेलायतमा मात्र वार्षिक ८५ करोड डलरको योगदान

कृषि पोष्ट संवाददाता

बिबिसी

कोरोना महामारीले मान्छेको जीवन लकडाउनमा बाँधेर राख्दा जीवजन्तु, बोटबिरूवा र वातावरणले भने खुल्ने मौका पाएका छन्।

मान्छेको घन्चमन्च, धूलोधुँवा र टाँटाँटिँटीबाट मुक्त भएर जीवजन्तुहरू रमाउन थालेका छन्। निकुञ्जभित्र सडकमै सुतेका सिंहको बथानदेखि हङकङको पार्कमा एक दशकपछि सम्भोगरत पान्डाका समाचारहरू आइरहेका छन्।

यो कथामा अर्को प्राणी पनि थपिएको छ, जसका लागि लकडाउन उपयोगी साबित बनेको छ। त्यो प्राणी हो, माहुरी।

संसारभर जंगली माहुरीको संख्या कम हुँदै गएको अध्येताहरूले करिब एक दशकदेखि बताउँदै आएका छन्। मान्छेको जीवन चलायमान राख्न सबभन्दा महत्वपूर्ण मानिने माहुरी कम हुँदै जाँदा वैज्ञानिकहरूको चिन्ता बढ्दो छ।

‘हाम्रो वरपरको परिवेश जस्तो देखिन्छ, हामी जे खान्छौं, त्यसमा माहुरीको भूमिका एकदमै धेरै र बलियो छ,’ बेलायतस्थित बम्बलबी कन्जरभेसन ट्रस्टका प्रमुख कार्यकारी गिल पर्किन्स भन्छन्, ‘पूरा पर्यावरण चलायमान राख्ने यिनै माहुरी हुन्।’

उनका अनुसार माहुरीबिनाको संसार एकदमै अलग हुनेछ। फरक देखिनेछ। रूखो बन्नेछ।

बोटबिरूवामा परागसेचन गरी यिनले खाना बनाउन मद्दत गर्छन्। फूल फुल्ने बोटबाट हामीले खाने ८० प्रतिशत खाना तयार गर्न यिनको भूमिका हुन्छ।

माहुरी र योजस्तै काम गर्ने अरू कीराकिरीको विश्व अर्थतन्त्रमा मूल्य हिसाब गर्ने हो भने करिब १५० अर्ब डलर हुन्छ। बेलायतमा मात्र यसले वार्षिक ८५ करोड डलरको योगदान दिन्छ।

आफ्नो घट्दो संख्यासँग जुझिरहेको माहुरीलाई लकडाउनले केही आशा दिएको छ। बाटामा कम सवारी र प्रदूषण हुँदा यिनले हावामा खुलेर चलमलाउन पाएका छन्।

सन् २०१६ मा भएको एक अध्ययनअनुसार प्रदूषण कम हुँदा बोटबिरूवाको बासना पनि लामो समय रहन्छ। यसले माहुरीलाई आफ्नो खाना पत्ता लगाउन सहज हुन्छ। नजिकै खाना पाएपछि उनीहरू आफ्नै बासमा फर्किने सम्भावना बढ्छ। स्वच्छ वातावरणमा यिनको संख्या बढ्न पनि सहज हुन्छ।

‘घन्चमन्च सहरमा माहुरीलाई खाना खोजेर आफ्नो गुँडसम्म फर्किन कठिन हुन्छ। सफा वातावरण भए नजिकै खाना खोज्यो, आफ्नो बासमा आयो। उनीहरूको आयु पनि बढ्छ,’ रोयल होलोवे, युनिभर्सिटी अफ लन्डनका प्राध्यापक मार्क ब्राउन भन्छन्।

सन् २०१५ मा क्यानडाका अध्येताहरूले गरेको अध्ययनअनुसार उत्तरी अमेरकामा हरेक साल २५ अर्ब माहुरी र बारूला सडकमा गाडीका कारण मर्छन्।लकडाउन भएयता यो संख्या कम भएको प्राध्यापक ब्राउनले आकलन गरेका छन्।

त्यस्तै लकडाउनमा सडक आसपासका र खुला क्षेत्रका बोटबिरूवा काँटछाँट तथा व्यवस्थापन नहुँदा पनि माहुरीलाई फाइदा पुगेको छ।

‘चारैतिर हरियाली र फूलहरू देखेर माहुरीले घर बसाउन र खाना सहजै पाउन थालेका छन्,’ प्राध्यापक ब्राउन भन्छन्, ‘यसले बेलायतमा माहुरीको संख्या बढाउन मद्दत गर्छ।’

यही कुरा मध्यनजर गर्दै बेलायतका पर्यावरणविदहरूले केही वर्ष सहरका बोटबिरूवा यसै छाडिदिन माग गर्दै अभियान थालेका छन्- ‘काँटछाँट नगरौं, बढ्न दिऊँ।’

प्राध्यापक ब्राउन पनि यसमा सहमत छन्। अन्त पनि लकडाउनले माहुरीमा सकारात्मक प्रभाव पारेको उनको अनुमान छ।

यो समाचार जंगली माहुरी र पर्यावरणका लागि सुखद भए पनि महका निम्ति भने होइन। व्यावसायिक रूपमा माहुरी पाल्नेहरूले लकडाउनका कारण मह उत्पादन र बिक्री गर्न पाएका छैनन्।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏